धनुषामा दशैं अवधिमा ३३ सवारी दुर्घटना

जनकपुरधाम । धनुषामा दशैं अवधिमा ३३ वटा सवारी दुर्घटना भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार असोज २१ देखि ३० गतेसम्मको अवधिमा ३३ सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको हो ।
यस दश दिनको अवधिमा ५२ वटा सवारी साधन संलग्न रहेको ३३ दुर्घटनामा २४ जना गम्भीर घाइते भएका छन् भने ३० जनालाई सामान्य चोटपटक लागेको छ ।
यस अवधिमा एउटा ट्रक, एउटा जीप, ३ वटा ट्याक्टर, ४ वटा टेम्पो, ३७ वटा मोटरसाइकल र ६ वटा साइकललगायतका सवारी साधनहरु दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीषक नवराज न्यौपानेले जानकारी दिए ।
असोज २४ गते जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ बस्ने ४५ वर्षीया सगिना खातुनलाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको थियो । उनलाई नम्बर खुल्न नसेको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो । उपचारका लागि प्रादेशिक अस्पताल लैँजादैं गर्दा बाटोमै उनको मृत्यु भएको थियो ।
त्यस्तै, शनिबार दिउँसो तीनजना सवार मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा दुईजनाको मृत्यु भएको थियो ।
जिल्लाको सबैला नगरपालिकामा तिव्रगतिमा रहेको बा.४८ प. ५५२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ बस्ने २७ वर्षीय दीपलाल महरा र सोही ठाउँका २१ वर्षीय हरिचन महराको मृत्यु भएको थियो ।