काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आइतबार केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।

नेकपा (एस) ले ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशनमा स्थायी कमिटी र पोलिटब्यूरोका साथै केन्द्रीय कमिटीलाई विस्तार गरी कार्य विभाजन तोकिएको छ ।

एकीकृत समाजवादीमा वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेताको पदीय हैसियत दिइएको छ । साथै विदेश विभाग प्रमुखको जिम्मेवारी समेत उनले पाएका छन् ।

त्यस्तै, मुकुन्द न्यौपानेलाई उद्योग विणज्य विभाग प्रमुख र उद्योग व्यवसाय फाँट इन्चार्ज तथा नेपाललाई प्रतिष्ठानहरुको इन्चार्जको जिम्मेवारी दिइएको छ भने प्रदीप नेपाल नेताको रुपमा रहेका छन् ।

४२ सदस्यीय स्थायी कमिटी बनाएको एकीकृत समाजवादीमा ९४ सदस्यीय पोलिटब्यूरो रहेको जनाइएको छ । सो पार्टीले एक वडा एक सय संगठित सदस्य अभियान समेत चलाउने भएको छ ।

अध्यक्ष नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा एक वडा एक सय संगठित सदस्य र एक हजार पार्टी सदस्य निर्माण गर्न अभियान चलाउने उल्लेख छ ।

साथै सबै जिल्लाले बढीमा एक महिनाभित्र पार्टी कार्यालय स्थापना गरिसक्ने र पालिका तहमा पनि पार्टी कार्यालय स्थापना गरी कामलाई प्रभावकारी बनाउन भनिएको छ ।