धनुषामा सिरहाका एक युवकको घाँटी रेटेर हत्या

जनकपुरधाम । धनुषामा सिरहाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ ।
जिल्लाको नगराइन नगरपालिका वडा नम्बर-५ स्थित गंगुलीबाट देवडिहा जाने बाटोको छेउमा सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर-८ बस्ने २८ वर्षीय सञ्जिव पण्डितको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।
पण्डितको शव घाँटी रेटेर हत्या गरिएको अवस्थामा आइतबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
शनिबार राति नै कसैले घाँटी रेटेर पण्डितको हत्या गरेको हुनसक्ने डिएसपी बस्नेतले बताए । आइतबार बिहान स्थानीयले झाडीमा उनको शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
प्रहरी घटनास्थल पुगेर मुचुल्का गरी मृतक पण्डितको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।