जनकपुरधाम । प्रदेश २ को लोकसेवा आयोगलाई गालीगलौज गरेको भन्दै एक युवकलाई कालोसूचीमा पारिएको छ ।

तथानाम गालीगलौज गर्दै आयोगको ईमेलमा प्रतिक्रिया दिएपछि महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर-९ बथनाहाका प्रनित कुमार झालाई एक वर्षका लागि कालोसूचिमा पारिएको हो ।

कर्मचारी भर्नाका लागि आयोगले गरेको विज्ञापनमा अनलाइन मार्फत झाले दरखास्त दिएका थिए । उनले अनलाइन फारम भर्ने क्रममा केहि प्रमाणपत्र पेस गरेका थिएनन् । प्रमाण अपुग रहेको भन्दै आयोगले इमेल मार्फत जवाफ मागेको थियो ।

तर उनले आयोगको इमेलको जवाफ दिनुको साटो उल्टै अपशब्द प्रयोग गरी प्रतिक्रियामा गालीगलौज गरेको प्रदेश लोकसेवा आयोगले जनाएको छ ।

असोज ६ मा एक पत्रिकामा सूचना प्रकाशन गरी उनलाई कालो सूचिमा राखेर कारबाही गरिएको छ ।