काठमाडौं । नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा प्रतिबन्ध लगाइएको छ ।

लिग चरणमा श्रीलंका र बंगलादेशविरुद्ध पहेँलो कार्ड पाएका कारण फाइनल खेलमा साफले प्रतिबन्ध लगाएको हो ।

साफको नियमावलीमा रातो कार्ड पाएमा मात्र अफिसियलले अर्को खेल गुमाउने उल्लेख भए पनि नेपाली प्रशिक्षकलाई प्रतिबन्ध लगाएको हो । नेपालका अन्जन विष्टले पनि लगातार दुई खेलमा पहेंलो कार्ड पाएकाले भारतविरुद्धको फाइनल खेल गुमाउने छन् ।

भारतका प्रशिक्षक स्टिमाचले पनि बंगलादेशविरुद्धको खेलमा रातो कार्ड पाएकाले उनले पनि नेपालविरुद्ध हुने फाइनल खेल गुमाउनेछन् । तर नेपालका प्रशिक्षक अल्मुतारीलाई समेत फाइनल खेलमा प्रतिबन्ध लगाइएको जानकारीसहितको पत्र साफले एन्फालाई दिएको छ ।

प्रशिक्षक अलमुताइरीले असन्तुष्टि जनाउँदै यो नियमविपरीत र अन्यायपूर्ण भएको प्रतिक्रिया दिएका छन् । शनिबार बिहान भर्चुअल पत्रकार सम्मेलन गर्दै उनले यो निर्णय भारतले खेल जितोस् भन्ने चाहनाबाट प्रेरित भएको बताएका छन् ।

अलमुताइरीको प्रशिक्षणमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको हो । साफ च्याम्पियनसिपको बलियो टोली भारत र नेपालबीचको फाइनल खेल आज राति पौने नौ बजे मालदिभ्सको राजधानी मालेमा हुँदैछ ।