एजेन्सी । १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि चेन्नई सुपर किङ्सको पोल्टामा परेको छ ।

शुक्रबार राति दुबईमा भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले चौथो पटक आईपीएलको उपाधि उचालेको हो ।

चेन्नईले यसअघि सन् २०१०, २०११ र २०१८ मा आईपीएलको उपाधि जितेको थियो ।

कोलकाताले टस जितेर ब्याटिङको निम्तो दिएपछि पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनाएको थियो । चेन्नईका लागि फाफ डु प्लेसिसले सर्वाधिक ८६, मोइन अलीले ३७, ऋतुराज गाइकवाडले ३२ र रोविन उथप्पाले ३१ रन बनाएका थिए।

कोलकात्ताका सुनिल नारिनले दुई तथा शिवम् मावीले एक विकेट लिए । १९३ रनको लक्ष्यसहित जवाफी व्याटिङमा उत्रिएको कोलकात्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन मात्रै बनाउन सक्यो ।

कोलकाताका लागि शुभमन गिलले ५१, वेङ्कटेश अय्यरले ५०, शिवम् मावीले २० र लकी फर्गुसनले १८ रन जोडे पनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

चेन्नईका शार्दुल ठाकुरले तीन, रवीन्द्र जडेजा र जोस हेजलउडले २–२ तथा दीपक चाहर र ड्वेन ब्राभोले १–१ विकेट लिए ।