एजेन्सी । बलिउड नायक अक्षय कुमार ती कलाकारमा गनिन्छन् जो ब्याक टु ब्याक सुटिङमा व्यस्त हुन्छन् ।

अक्षयका केही फिल्म रिलिजको तयारीमा छन् । कोरोना महामारीले गर्दा फिल्महल राम्रोसँग नखुलेका कारण उनको फिल्म दर्शकको पर्खाइमा रहेका छन् ।

यसैबीच केही फिल्मको सुटिङमा अक्षय व्यस्त छन् । यहीबेला अक्षयले आफ्नो आगामी फिल्म ‘गोरखा’को पोस्टर रिलिज गरेका छन् ।

‘गोरखा’ एउटा युद्धको कथा बोकेको फिल्म हो जहाँ अक्षय​ कुमारले वार हिरो मेजर जनरल इयान कार्डोजोको भूमिका निभाउने छन् ।

आनन्द एल रायको कलर एलो प्रोडक्सन र अक्षय कुमारको केप अफ गुड फिल्म्सले संयुक्त रुपमा ‘गोरखा’ बनाउन लागेका हुन् । फिल्म भारतीय सेनाको गोरखा रेजिमेन्ट (५औं गोरखा राइफल्स)का एक महान् सैनिक अधिकारी मेजर जनरल इयान कार्डोजीको जीवनमा आधारित रहेको छ ।

इयान कार्डोजीले सन् १९६२, १९६५ को युद्ध र विशेषगरी १९७१ को भारत–पाकिस्तान युद्धमा वीरता प्रदर्शन गरेका थिए । अक्षय उनै युद्ध नायकको भूमिका निर्वाह गर्नेछन् ।

‘यो कथालाई १९७१ को युद्धको ५०औं वर्षगाँठमा सार्वजनिक गर्न लागिएको मलाई खुसी लागेको छ,’ इयान कार्डोजीले प्रतिक्रिया जनाएका छन् ।

‘गोरखा’को निर्देशन राष्ट्रिय पुरस्कार विजेता संजय पूरन सिंह चौहान गर्नेछन् ।

‘गोरखा’ भन्ने वित्तिकै नेपाली गोर्खा सैनिक जोडिन्छन् । यस फिल्ममा भारतको गोर्खा रेजिमेन्टमा रहेका नेपालीको वहादुरीलाई पनि समेटिएको छ ।

फिल्मको पोस्टरमा अक्षय कुमारको हातमा नेपालीको शान खुकुरी देखाइएको छ ।