बेलायतमा कोरोना संक्रमण बढ्दै

एजेन्सी । बेलायतमा कोरोना भाइरसको संक्रमण पछिल्ला दिनहरूमा झन् बढेको देखिएको छ ।
त्यहाँका अधिकारीहरूले बुधबार मध्य जुलाईपछिकै सबैभन्दा धेरै सङ्क्रमित देखिएको बताएका छन् । बेलायतका स्वास्थ्य अधिकारीहरूले पछिल्ला केही दिनमा सङ्क्रमण झन् बढेको पाइएको बताएका हुन् ।
त्यहाँका सरकारी अधिकारीहरूले बताएअनुसार बुधबार गएको २४ घण्टापछि पहिलो पटक ४२ हजार जना भन्दा बढी सङ्क्रमित देखिएका हुन् । सरकारले अघि सारेका स्वास्थ्य सम्बन्धी कार्यक्रम र अन्य मापदण्ड लगायतका प्रयासका बाबजुत पनि यहाँ सङ्क्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ४२ हजार ६७७ जनामा एकै दिनमा सङ्क्रमण भएको छ । यो समेत गरी बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या ८२ लाख ७२ हजार नाघेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण एक सय ३६ जनाको मृत्यु भएको छ ।
बेलायतका स्वास्थ्य अधिकारीले निकै लामो समयपछि यहाँ धेरै समयपछि यतिधेरै व्यक्तिको एकै दिन मृत्यु भएको बताए । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण १ लाख ३८ हजार ८० जनाको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये करिब ७ हजार जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।
त्यहाँका १६ वर्षमाथिका झन्डै ९० प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करिब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयलको तथ्यांकमा उल्लेख छ ।