मिथिलामा मूर्ति पूजाको महत्व

जनकपुरधाम । मिथिला नगरीका विभिन्न शक्तिपीठहरुमा पूजाआराधना गर्ने भक्तजनको भीड बढ्नुका साथै माता दूर्गाका मन्दिरहरुमा भव्य पूजा अराधना भईरहेको छ ।
माता सीता मिथिलाकी छोरी भएकीले भगवतीका अन्य स्वरुपको पनि माइती मिथिलालाई नै मान्ने गरिएको छ । त्यसैले दशैंमा मूर्ति निर्माणअघि विवाहित बेहुलीझैं नवदूर्गालाई माइतीमा भित्र्याउने परम्परा रहेको छ ।
संस्कृतिविद्हरू भक्तिका ९ मार्गमध्ये वात्सल्य मार्गलाई भावुक मार्गको संज्ञा दिने गरेका छन । जानकी मन्दिरका प्रथम महन्थ सुरकिशोर दास माता सीतालाई छोरीझैँ माया गर्नुका साथै सेवा पनि गर्ने गरेको र पछि उनका उत्तराधिकारी महन्तहरुले समेत सो परम्परालाई अझै जारी राख्दै आएको मिथिलाबासीहरु बताउँछन् ।
मैथीली साहित्यकार नित्यानन्द मण्डलले मिथिला र बंगालको सम्बन्धको रुपमा मूर्ति पूजा रहेको र बंगालमा एउटा उत्सवको रुपमा रहेका कारण पण्डितहरु बंगाल जाने र बंगालका व्यक्तिहरु विद्या अध्ययनका लागि मिथिला आउने गरेकोबाट पनि मिथिलामा मूर्ति पूजा गर्ने चलन सुरु भएको बताए ।
उनले त्यही बेलाबाट माटोको प्रतिमा बनाएर पूजा गर्ने पम्पराको विकास भएको हुनसक्ने बताए । तर अहिले भने आधुनिकताले छोपेकोले पहिलेको जस्तो उत्कृष्ट मूर्तिहरु नभएको उनको भनाइ छ । देवीदेवतासँग पारिवारिक सम्बन्ध स्थापित गर्ने र परिवारका सदस्यझैं मधुर व्यवहार गर्ने परम्परा मिथिलाबासीहरुको रहेको उनले बताए ।
उनले आर्य समाजमा मूर्ति पूजनको परम्परा महाभारतकालदेखि सुरु भएको र नवप्रस्तर युगमा समेत मूर्ति पूजाको परम्परा रहेको दाबी गरे । मूर्ति पूजाको प्रारम्भ बहुदेवतावादको युगमा सुरु भएको साहित्यकार मण्डलको तर्क छ ।
पूजा अवधिसम्म माइती आएकी चेलीझैं मीठो परिकार अर्पण गरी पूजा अराधना गर्ने गरिन्छ । मूर्ति सेलाउने बेला सोहर (छोरी बिदा गर्ने बेलाको गीत) गाएर बिदाई गर्ने परम्परा रहेको छ ।