जनकपुरधाम । जनकपुरधाममा चाडबाडको बेला फलफूलको मूल्य महंगो भएको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

जनकपुरधामका विभिन्न स्थानहरुमा फलफूल किन्न पुगेका उपभोक्ताहरुले तुलनात्मक रुपमा मूल्य महंगो भएको गुनासो गरेका हुन् ।

जानकीचोक, रामानन्दचोक, रामचोक, विद्यापति चोकलगायतका ठाउँहरुमा फलफूल किन्न पुगेका उपभोक्ताहरुले दशैंको कोसेलीका लागि फलफूल सजिलो रहेपनि मूल्य भने अत्याधिक बढेको बताएका छन् ।

उनीहरुले फलफूलको मूल्यमा एकरुपता नभएको भन्दै स्थानीय प्रशासनले चाडबाडको मुखमा समेत बजार अनुगमन नगरेको गुनासो गरेका छन् ।

एक हप्ताअघि मात्र २ सयमा किनेको स्याउको मूल्य ३ सय रुपैयाँसम्म पुगेको उपभोक्ताहरुको गुनासो छ । सरकारी पक्षले बजार नियमन नगरिदिँदा जथाभावी मूल्य बढाएर व्यापार गरिरहेको उपभोक्ताहरु बताउँछन् ।

फलफूल व्यापारीहरुले भने चीनबाट फलफूल नआएकोले महंगो भएको बताएका छन् भने फलफूल बजारमा पनि एउटै दरको बजार मूल्य नभइदिँदा समेत समस्या आइरहेको बताएका छन् ।

व्यापारीहरुले नेपालमा उत्पादित फलफूलले दुई महिना पनि बजार नधान्ने र बाहिरबाट सवारीसाधनहरु नआउँदा केही महंगो भएको बताएका छन् ।