भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश

एजेन्सी । भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको भएको समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–१ गोल अन्तरले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो । फाइनलमा प्रवेश गरेसँगै अब नेपाल र भारतबीच उपाधि भिडन्त हुने भएको छ ।
भारतको जितमा कप्तान सुनिल क्षेत्रीले २ र मनविर सिंहले १ गोल गरे । माल्दिभ्सका अलि अश्फाकले १ गोल फर्काए । भारत प्रतियोगितामा अपराजित यात्रा कायम राख्दै शीर्षस्थानमा रहेर फाइनल पुगेको हो ।
भारतका लागि ३३ औं मिनेटमा मनवीरले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा अश्फाकले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । ६२ औं र ७१ औं मिनेटमा सुनिलले गोल गर्दै भारतलाई ३–१ को जित दिलाए ।
खेलको ८० औं मिनेटमा भारतका प्रशिक्षक इगोर स्टिमाचले रातो कार्ड पाएका थिए । रेफ्रीको निर्णयमा लगातार विरोध गरेका उनले खेलमा दोस्रो पहेँलो कार्डसँगै रातो कार्ड पाएपछि बेन्च छाडेका थिए । उनले अब फाइनलमा पनि बेन्चमा बस्न पाउने छैनन् । थप गरिएको समयमा सुवासिस बोसले रातो कार्ड बेहोर्दा भारत केही समयका लागि १० खेलाडीमा सिमित बनेको थियो ।
भारतले ४ खेलमा २ जित र २ बराबरसहित ८ अंक जोड्दा नेपाल ४ खेलमा २ जित, १ हार र १ बराबरीसँगै ७ अंक जोड्दै दोस्रो स्थानमा रह्यो । माल्दिभ्स ६ अंकसाथ तेस्रो र बंगलादेश ५ अंक जोड्दै चौथो भयो । १ अंक जोडेको श्रीलंका अन्तिममा रह्यो ।
यसअघि बुधबार नै भएको आफ्नो समूह चरणको अन्तिम खेलमा नेपाल फाइनलमा प्रवेश गरेको थियो । बंगलादेशसँग १–१ को बराबरी खेलेको नेपाल अंक तालिकाको आधारमा फाइनलमा प्रवेश गरेको थियो । अब फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति ८ः ४५ बजे हुनेछ ।
यसअघि समूह चरणको खेलमा नेपाल १–० गोलले भारतसँग पराजित भएको थियो ।