कार र मोटरसाइकल एक आपसमा ठोक्किदा २ जनाको मृत्यु, ३ जना घाइते

बारा । प्रदेश २ को बारा जिल्लामा कार र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको कोल्हबी नगरपालिकाको कोल्हबी निजगढ सडकखण्डको जङ्गल क्षेत्रमा मोटरसाइकल र कार एक आपसमा जुध्दा मोटरसाइकलमा सबार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
बुधबार राति करिब ९ः३० बजेको समयमा भएको सो दुर्घटनामा परि कोहल्बी नगरपालिका वडा नम्बर–२ बस्ने ३८ बर्षीय पेमा दोर्जे घिसिङ्ग र ४० बर्षीय डेनि स्याङ्ताङ्को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तामागढीबाट कोहल्बी तर्फ गईरहेको बा.११.च.४५११ नम्बरको कारले कोहल्बीबाट निजगढतर्फ आईरहेको ना.५९.प.१२७० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार उनीहरु दुबै जनाको मृत्यृ भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक बिपिन ओझाले जानकारी दिए ।
दुर्घटनामा परि कारमा सवार तीन जना भने घाइते भएका छन् । घाइतेमध्ये कारका चालक कोहल्बी वडा नम्बर–२ बस्ने ४५ बर्षीय बद्री अधिकारी सामान्य घाइते भएका छन् । कारका चालक अधिकारी अहिले प्रहरी नियन्त्रणमा रहेका छन् भने कारमा सवार १८ बर्षीय रोहित पण्डितको टाउकोमा चोट लागेको छ ।
त्यसैगरी कारमै सवार रौतहट बिजयपुर फतुवा बस्ने २५ बर्षीय विवेक चौधरीको टाउको र खुट्टामा चोट लागेको छ । घाइतेहरु सबैको कोहल्बीस्थित जननायक क्लिनिकमा उपचार गरिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।