–ज्योति झा

के नारी भएर जन्म लिनु पाप हो ? या कसैको श्राप ? पौराणिक ग्रन्थले त नारीलाई पूजनीय र देवी भनेको छ । र लक्ष्मी मातासँग नारीको तुलना गरेको समेत पाइन्छ ।

भनिन्छ जहाँ नारीको सम्मान हुँदैन त्यहाँ लक्ष्मीको बास हुँदैन । फेरी कसरी घटना कुघटनालाई पैसाको बल प्रयोग गरि नारीको अस्मितासँग खेलवाड हुन्छ त हाम्रो समाजमा ? हरेक दिन एउटा यस्तो घटना घट्छ जसले स्पष्ट हुन्छ कि हाम्रो समाजमा नारी सुरक्षित छैनन् । जबकि नारी कुनैपनि मानिसको पहिलो शिक्षिका हुन् । तरपनि यहाँ ज्ञान बाँड्ने शिक्षिकालाई नै अन्धकारमा धकेलिन्छ ।

एकछिन सोचौं त के यदि धर्तिमा पुरुष छैनन् भने समाज र देश चल्न सक्दैन र ? मेरो विचारमा त बिल्कुलै सक्छ किनभने यस्ता कति महिला होलान् वा हुनसक्छन जसको गर्भमा शिशु पलिरहेको हुनसक्छ । तर यदि महिला नै नभए धर्तिको अस्तित्व बाँच्न सक्छ त ? आमा, छोरी, बहिनी, जीवनसंगिनी इश्वरको सर्वोत्तम देन हो । तर आज त्यो देनलाई हामि विनाश गर्नमा तुलेका छौं । उसको मान सम्मानसँग हामी खेलिरहेका छौं । जबकि महिला नै हुन् जसले बेटी रोटीको सम्बन्धलाई कायम राखि एक अर्को देशबीचको सुमधुर सम्बन्धलाई प्रगाढ बनाएकि छिन् ।

हुनत महिला र पुरुषबिच शारीरिक सम्बन्ध स्वभाविक पनि हो तर जब यो सम्बन्ध महिलाको इच्छा विपरीत वा जोरजबरदस्ती गरिन्छ भने त्यो घटना उसको जीवनको लागि सबभन्दा ठूलो श्राप बन्न पुग्छ । चाहे महिला मोडर्न होस् वा रुढीवादी नै किन न होस तर बलात्कारको पीडा भोग्नु भनेको उसको लागि संसारको सबै पीडाभन्दा कयौं गुणा बढि कष्टकर हुन्छ ।

हरेक दिन् बलात्कारका घटनाहरु बाहिर आइरहेको हुन्छन् तर न्याय पाउने बेलामा बलात्कारीलाई नभई बलात्कृत माथि नै उल्टो दोषारोपण हुन्छ । कलिलो उमेरकी बालिकाहरू त झन सुरक्षित छैनन् । आज हाम्रो समाजमा नारीको अस्तित्वलाई मजाक बनाइएको छ । हाम्रो समाजमा बोक्सी नारी हुन्छन् तर पुरुष हुँदैनन् । आखिर किन ?

नव दुर्गाको नौ रूपको पूजा त हुन्छ तर त्यही नवदुर्गाको अर्को अवतार नारीलाई किन बलात्कार , शोषण, अपमान गरिन्छ ? र सबभन्दा लाजमर्दो कुरा त त्यो त्यो नवदुर्गाको नौ स्वरूपलाई पूजा गर्ने पुरुष नै हुन्छन् । मैले आजसम्म देखेकोमा हरेक माताको मन्दिरमा पूजा गर्ने पुरोहित पुरुष महानुभावहरुलाई नै देखेकी छु । तर दुर्भाग्य त्यही नारीको अस्मिता लुट्ने पुरुष नै हुन्छन् ।

माताको पूजा गरिन्छ तर त्यहि नारीलाई नवरात्रिमा मन्दिर प्रवेशमा रोक लगाईन्छ । र कारण सोध्दा महिला रजस्वला भएमा मन्दिर जानु र यताउती गर्नु । के पुरुष बोक्सी हुँदैन ? महिला मात्रै बोक्सी ? के हामीलाई थाहा छैन् रजस्वला भएको समयमा मन्दिर जानुहुँदैन कि यो कुरा पनि हामीलाई पुरुष महानुभावले सिकाउनुपर्ने ?

घरमा भएको आमा स्वास्नी, बाटोमा हिँडेको महिलालाई त सम्मान छैन्, पूजा आर्जा गर्नबाट पनि वञ्चित गर्छौ र अधिकार सम्मानको कुरा गर्छौ हामी । दुर्गाको रूप नारीलाई मन्दिर प्रवेश छैन् तर माताको भक्त आफूलाई भन्छौ हामी ।कस्तो सोच हाम्रो समाजको ? भन्ने केहि गर्ने केहि । माँ शक्तिको पूजा नै गर्नु छ भनें नारीलाई सम्मान देउ, अधिकार देउ । यही हो पूजा जस्तो मलाई लाग्छ ।