जनकपुरधाम । बडादशैंको आठौं दिन आज जनकपुरधामका विभिन्न शक्तिपीठहरुमा महिलाहरुले माता दुर्गाको ‘खोइँछ’ भर्दै पूजापाठ गरेका छन् ।

माता दुर्गाको ‘खोइँछ’ भर्ने विधि निकै पूरानो रहेको मान्यताका साथ मिथिलानीहरु मंगलबार मध्यरातदेखि नै शक्तिपीठहरुमा खोइँछ भरेका हुन् ।

जनकपुरधामको प्रसिद्ध शक्तिपीठहरु राजदेवी मन्दिर, बौद्धी माता मन्दिर, अन्नपूर्णा माई मन्दिर, अमरखाना माई मन्दिर, रामानन्द चोक, विद्यापति चोक, दक्षिणकाली मन्दिर, रजौलस्थित दूर्गा मन्दिर, सोनासत्ती मन्दिरलगायतका शक्तिपीठहरुमा मंगलबार राति १२ बजेदेखि नै ‘खोइँछ’ भरेका छन् ।

मिथिलामा छोरी घरबाट बाहिरिंदा उनलाई ‘खोइँछ’ दिने गरिन्छ । ‘खोइँछ’ मा पान, सुपारी, अक्षत, सिन्दुर, बेसार र फलफूल राखेर नयाँ कपडामा बाँधी छोरीलाई दिने चलन छ । सोही अनुरुप आज महिलाहरुले विभिन्न शक्तिपीठहरुमा भगवती दुर्गाको ‘खोइँछ’ भरेका छन् ।
‘खोइँछ’ भर्दा धनधान्य प्राप्त हुने र घरपरिवारमा सुखशान्ति हुने जनविश्वास रहेको छ ।

यसैबिच जनकपुरधामस्थित प्रसिद्ध शक्तिपीठ माता राजदेवीको मन्दिरमा लाखौंको संख्यामा श्रद्धालु भक्तजनहरुले प्रसाद (लड्डु) चढाएका छन् । राजदेवी मन्दिरमा प्रसाद चढाउन मंगलबार मध्यरातिदेखि नै श्रद्धालुको भीड लागेको पूजा व्यवस्थापन गर्दै आएका स्थानीय महावीर युवा कमिटीका अध्यक्ष बलराम साहले जानकारी दिए ।

उनका अनुसार करिव २ लाख व्यक्तिले राजदेवी मन्दिरमा प्रसाद चढाएका छन् । मन्दिरमा प्रसाद चढाउन जनकपुरधामलगायत आसपासका प्रत्येक ठाउँ र भारतबाट समेत श्रद्धालुको भीड लागेको उनले बताए । मंगलबार मध्यरातिदेखि लाईनमा लागेका श्रद्धालुहरु बुधबार दिउँसो २ बजेसम्म प्रसाद चढाएका छन् । प्रसाद चढाउनेहरुको लाईन मिल्स एरियासम्म पुगेको थियो ।

यता, बुधबार हुने बोकाबलीका लागि यसपालि ४ वटा अस्थायी ठेहा राखिएको छ । प्रत्येक ठेहाका लागि १० जनाको समूहमा स्वयंसेवक परिचालित गरिने अध्यक्ष साहले बताए । उनले बलिप्रदान कार्यक्रमलाई व्यवस्थित बनाउन ५ सयको संख्यामा स्वयंसेवक परिचालन गरिएको जानकारी दिए ।

बोकाको लाइन सहित डोरी र व्यवस्थापनको लागि समेत प्रति ठेहा १० जना जनशक्ति खटाइने उनले बताए । यसपालि अहिलेसम्ममा १४ हजार भन्दा बढि रसिद काटिसकिएकोले बोकाबलीको संख्या १५ हजार भन्दा बढि रहने अनुमान गरिएको छ । आज राति ७ः३० देखि ८ बजेसम्मको बिचमा बोकाबली सुरु हुनसक्ने अध्यक्ष साहले अनुमान गरेका छन् ।

यता, सुरक्षा व्यवस्थालाई दृष्टिगत गर्दै दशैंमा जनकपुरधाम नगरभित्र मात्र करिव १ हजार ५ सयको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरिक्षक प्रकाश रानाभाटले जानकारी दिए । उनले जिल्ला प्रहरी कार्यालयका १ हजार भन्दा बढि, दंगा प्रहरी गणका २ सय, सशस्त्र प्रहरीको टोली २ सय र सादा पोशाकमा पनि करिव १ सयको संख्यामा सुरक्षाकर्मी २४ सौं घण्टा परिचालित गरिएको बताए । त्यस्तै, स्पेशल टास्क फोर्सको एम्बुस टोली पनि राति खटाइने एसपी रानाभाटले जानकारी दिए ।

असत्यमाथि सत्य, अधर्ममाथि धर्म, अँध्यारोमाथि उज्यालो प्राप्ति तथा कार्यसिद्धि र मनोकामना पूर्णताका लागि राजदेवीमा बोकाको बलि दिने चलन छ । राजदेवीलाई महादुर्गा, महाकाली, महासरस्वती, महामाया चण्डिका, पार्वती, कौशिकी, जानकी र किशोरी नामले पनि पूजार्चना गर्ने परम्परा छ ।