–ज्योति झा
जनकपुरधाम, १३ कार्तिक ।
आज केही लेख्न मन लाग्यो । तर, कलम समात्न खोज्दा मनमा एउटा प्रश्न उठ्यो । आफ्नै समाजको यथार्थ लेखेर खुसी हुने कि त्यसको अवस्था देखेर दुःखी हुने? कताकता डर पनि लाग्यो । किनकि आजको समयमा सत्य बोल्नुभन्दा लोकप्रिय हुनु सजिलो छ वास्तविक समस्या उठाउनुभन्दा ध्यान खिच्नु प्रभावकारी छ । र, समाजका कमजोरी औँल्याउनुभन्दा आदर्शको मुखौटा लगाउनु फाइदाजनक देखिन्छ ।

हामी विकासको कुरा गर्छौँ, आधुनिकताको चर्चा गर्छौँ र प्रविधिले संसारलाई नजिक बनाएकोमा गर्व गर्छौँ । तर, यही परिवर्तनको भीडमा एउटा महत्त्वपूर्ण प्रश्न छुटिरहेको छ । हामीले सुविधा त बढायौँ, तर के मानवीय संवेदना पनि जोगाउन सक्यौँ?

आज संसारभरका मानिससँग जोडिने माध्यम हाम्रो हातमा छ । तर, आफ्नै परिवारसँग मन खोलेर कुरा गर्ने समय छैन । सामाजिक सञ्जालमा हजारौँ साथी छन् । तर, दुःखको घडीमा साथ दिने आत्मीय सम्बन्ध कमजोर हुँदै गएका छन् । संस्कारको व्याख्या गर्नेहरू धेरै छन् । तर, त्यसलाई व्यवहारमा उतार्नेहरू कति छन्? समाजका लागि काम गर्नेभन्दा समाजले आफूलाई हेरोस् भन्ने चाहना किन बढिरहेको छ?

कुनै समय एउटै घरमा सात पुस्तासम्मको इतिहास जोडिएको हुन्थ्यो । हजुरबा, हजुरआमा, आमाबुवा, छोराछोरी र नातिनातिनासम्म एउटै छानामुनि जीवन बिताउँथे । नुनरोटी नै किन नहोस्, परिवारका सदस्यहरू सँगै बसेर खान्थे । कुनै एकजनाको दुःख सबैको दुःख हुन्थ्यो र कसैको खुसी सिंगो घरको उत्सव बन्थ्यो । परिवारमा हाँसेको रमाएको वा झगडा नै किन नहोस् आवाज बाहिर छिमेक सम्ममा पुग्थ्यो । तर, अहिले मोबाइल साउन्ड र घरमा सन्नाटा हुन्छ ।

आज घरहरू आधुनिक बनेका छन् । सुविधाहरू बढेका छन् । र, व्यक्तिगत स्वतन्त्रताको महत्त्व पनि बढेको छ । छुट्टै घरमा बस्नु वा स्वतन्त्र जीवन बिताउनु ठूलो कुरा होइन । यो आफैँमा समस्या होइन । समस्या त्यतिबेला सुरु हुन्छ, जब घर छुट्टिँदा मन पनि छुट्टिन्छ, सम्बन्धमा आत्मीयता हराउँछ र जिम्मेवारीबाट पन्छिने प्रवृत्ति बढ्छ ।

एउटै घरमा परिवारका सदस्यहरू सँगै त हुन्छन् । तर, सबै आफ्नै मोबाइलमा व्यस्त छन् । अपरिचितको पोस्टमा प्रतिक्रिया दिन समय छ । तर, आफ्नै आमाबुवासँग बसेर दुई शब्द बोल्न फुर्सद छैन । संसारभरका गतिविधि थाहा हुन्छ । तर, आफ्नै घरभित्र कसले कुन पीडा लुकाइरहेको छ भन्ने थाहा हुँदैन ।

अझ विडम्बना त के छ भने कतिपय मानिस वृद्ध आमाबुवाको हालखबर सोध्नसमेत समय निकाल्दैनन् । तर, सामाजिक सञ्जालमा ‘मातृदेवो भवः, पितृदेवो भवः’ लेख्न भने छुटाउँदैनन् । आमाबुवा जीवित छँदा उनीहरूको दुःख, आवश्यकता र भावनाप्रति बेखबर रहने, आफ्नै इच्छाअनुसार जीवन बिताउने । तर, मृत्यु भएपछि सोह्रश्राद्धका तस्बिर राखेर श्रद्धाको प्रदर्शन गर्ने प्रवृत्तिले गम्भीर प्रश्न उठाउँछ ।

जीवित हुँदा दुई शब्दको माया दिन नसक्नेले मृत्युपछि श्रद्धाको प्रदर्शन गरेर मात्र कर्तव्य पूरा हुन्छ र? जसले जीवनभर दुःख गरेर घर बनाए, सन्तानको भविष्यका लागि आफ्ना सुख–सुविधा त्यागे, आज कतिपय अवस्थामा तिनै अभिभावक वृद्धाश्रममा वा आफ्नै घरभित्र पीडा सहेर जीवन बिताउन बाध्य छन् । जसले घर बनाए, उनीहरू नै उपेक्षामा छन्, जसले त्यही घर पाए उनीहरू मालिक बनेर अधिकार जमाउँछन् । तर, जिम्मेवारी निर्वाह गर्ने बेला भने पछि हट्छन् ।

कर्तव्य पूरा गर्नु छैन । तर, अधिकारचाहिँ पूर्ण रूपमा चाहिएको छ । यही हो हाम्रो समाजको बढ्दो विडम्बना । समाजको अर्को दोहोरो चरित्र हेरौँ । आफू छोरीको आमाबुवा हुँदा गर्व गर्ने, छोरीको भविष्यका लागि सम्पत्ति जोड्ने र उसको सुखका लागि अनेक सपना बुन्नेहरू नै कतिपय अवस्थामा आफ्नै बाबुकी छोरी अर्थात् आफ्नी बहिनीको हक र अधिकारको कुरा आउँदा पछि हट्छन् ।

आफूले जन्माएको छोरीका लागि माया, सम्मान र समान अधिकारको वकालत गर्ने । तर, आफ्नै बहिनीलाई सम्पत्तिमा हक दिनुपर्दा बोझ ठान्ने—यो कस्तो न्याय हो? आफ्नी छोरीको अधिकार प्रिय हुने । तर, आफ्नै बहिनीको अधिकार बोझ लाग्ने सोचले समाजमा समानताको भाषण नभई दोहोरो चरित्रको पर्दाफास गर्छ ।

सम्बन्ध र जिम्मेवारीलाई स्वार्थअनुसार परिभाषित गर्न थाल्यौँ भने परिवारको जग मात्र कमजोर हुँदैन, हाम्रो सामाजिक नैतिकता पनि खिइँदै जान्छ । यही अवस्था बढ्दै गयो भने भोलि आफ्नै वा छिमेकीको घरमा कोही बिरामी पर्दा, दुःखमा हुँदा वा मृत्यु हुँदा समेत समयमै खबर नपाउने अवस्था आउन सक्छ ।

यो सम्बन्ध कमजोर भएको संकेत मात्र नभई समाजको सामूहिक संवेदना हराउँदै गएको चेतावनी हो । संस्कार र संस्कृति चाडपर्वमा लगाइने पहिरन, खिचिने तस्बिर वा सामाजिक सञ्जालमा लेखिने नारामा मात्र सीमित हुँदैनन् । तिनको वास्तविक अस्तित्व हाम्रो व्यवहार, जिम्मेवारी, पारिवारिक सम्बन्ध र जीवनशैलीमा हुन्छ ।

अरूको संस्कृति सम्मान गर्नु सभ्यताको परिचय हो । तर, अरूको बाहिरी चमक अपनाउने क्रममा आफ्नै संस्कृतिको मर्म बिर्सनुचाहिँ विडम्बना हो । आज कतिपय अवस्थामा आफ्ना परम्परा र संस्कारलाई जीवनमा अपनाउनुभन्दा आकर्षक भिडियो र पोस्टमार्फत प्रदर्शन गर्न बढी रुचि देखिन्छ ।

आफ्नो संस्कृतिको नाममा सामग्री बनाउनु गलत होइन । प्रविधिको प्रयोग गरेर संस्कृतिको प्रचार गर्नु सकारात्मक पक्ष हो । तर, संस्कृतिको संरक्षण गर्ने दाबी गर्दै त्यसको मूल भावना र व्यवहारलाई बेवास्ता गरिन्छ भने त्यसलाई संरक्षणभन्दा प्रदर्शन भन्नु उचित हुन्छ । देखावा कहिल्यै संस्कारको विकल्प बन्न सक्दैन ।

सामाजिक सञ्जालले अभिव्यक्ति, सूचना, व्यवसाय र प्रतिभा प्रदर्शनका लागि अभूतपूर्व अवसर दिएको छ । पहिले आफ्नो व्यवसाय वा सिर्जनाको प्रचार गर्न ठूलो रकम खर्चिनुपथ्र्यो । आज मोबाइल र इन्टरनेटको सहायताले सामान्य व्यक्तिले पनि आफ्नो विचार र उत्पादन हजारौँ मानिससम्म पुर्याउन सक्छ ।

तर, यही अवसरको अर्को पाटो पनि छ—लोकप्रियताको अन्धदौड । आफैँ पेज बनाउनुहोस्, आफ्नै प्रचार गर्नुहोस्, अरूलाई पनि प्रचार गर्न लगाउनुहोस् । बिहान उठ्नेबित्तिकै पोस्ट गर्नुहोस् र राति सुत्नुअघि फेरि पोस्ट गर्नुहोस् । चिया खाएकोदेखि घुम्न गएकोसम्म, सामान्य कुराकानीदेखि निजी जीवनका गतिविधिसम्म सबै सार्वजनिक गर्नुहोस् ।

यतिले पुगेन भने लाइभ बस्नुहोस् । विषयवस्तु होस् वा नहोस्, तयारी होस् वा नहोस्, जे मन लाग्यो त्यही बोल्नुहोस् । अझ भाइरल हुन मन छ भने विवाद सिर्जना गर्नुहोस्, अरूमाथि आरोप लगाउनुहोस् वा गालीगलौजमै उत्रिनुहोस् । निजी जीवनलाई मनोरञ्जनको सामग्री बनाएर बजारमा प्रस्तुत गर्नुहोस् ।

व्यङ्ग्य के छ भने पहिले मानिस आफ्नो कामको प्रचार गर्थे, अहिले कतिपय अवस्थामा प्रचार गर्नकै लागि काम गरेको जस्तो देखाउने प्रवृत्ति बढेको छ । निजी जीवनका कुरा साझा गर्नु वा मनोरञ्जनात्मक सामग्री बनाउनु आफैँमा गलत होइन । समस्या त्यतिबेला हुन्छ, जब भ्युज र लाइकको लोभमा मर्यादा, सामाजिक उत्तरदायित्व र आत्मसम्मानसमेत दाउमा लगाइन्छ ।

अहिले लोकप्रियताको लोभ कतिसम्म बढेको छ भने केही मानिस भ्युजकै लागि आफ्नो निजी जीवन र शरीरलाई समेत प्रदर्शनको वस्तु बनाउन पछि पर्दैनन् । प्रश्न स्वतन्त्रताको नभई लोकप्रियताका लागि हामी आफ्नो मर्यादाको सीमा कहाँसम्म घटाउँदै छौँ भन्ने हो ।

आजको सामाजिक सञ्जालमा देखिने अर्को विडम्बना हो—वास्तविक काम गर्नेहरू ओझेलमा पर्नु र प्रचार गर्न सिपालुहरू चर्चामा रहनु । शिक्षा, स्वास्थ्य, बेरोजगारी, भ्रष्टाचार, महिला हिंसा र सांस्कृतिक क्षयजस्ता गम्भीर विषयले अपेक्षित ध्यान पाउँदैनन् । तर, विवादास्पद अभिव्यक्ति, आरोप प्रत्यारोप र निरर्थक प्रदर्शनले छोटो समयमै हजारौँ भ्युज बटुल्न सक्छन् । यसको अर्थ मनोरञ्जन आवश्यक छैन वा दर्शकको रुचि गलत छ भन्ने होइन । प्रश्न यति मात्र हो—हामीले गम्भीर विषयलाई कति महत्त्व दिइरहेका छौँ र लोकप्रियताको नाममा कस्ता प्रवृत्तिलाई प्रोत्साहन गरिरहेका छौँ?

समाजका लागि निःस्वार्थ काम गर्ने व्यक्ति चर्चाबाहिर रहन सक्छ, जबकि सामान्य कामलाई भव्य प्रचारमा बदल्ने व्यक्ति लोकप्रियताको शिखरमा पुग्न सक्छ । मेहनत कसैले गर्छ, श्रेय अर्कैले लिन्छ । योगदान कसैले दिन्छ, सम्मान अर्कैले पाउँछ । यही अवस्थालाई एउटा पुरानो उखानले ठ्याक्कै चित्रण गर्छ—‘काम गर्ने कालु, मकै खाने भालु’

जब कामभन्दा प्रचार र योगदानभन्दा देखावालाई महत्त्व दिइन्छ, तब वास्तविक कर्म गर्नेहरू निरुत्साहित हुन्छन् । विस्तारै समाजमा काम गरेर पहिचान बनाउनेभन्दा पहिचान बनाएर काम गरेको देखाउने प्रवृत्ति हाबी हुन थाल्छ । आजको अवस्थालाई हेर्दा भन्न मन लाग्छ—यो कलियुग मात्र नभई कतिपय अवस्थामा ‘अर्थयुग’ पनि बनेको छ । यहाँ अर्थ अर्थात् पैसा, स्वार्थ र लाभले सम्बन्ध, सिद्धान्त र संवेदनशीलतालाई समेत प्रभावित गर्न थालेको छ ।

पैसा आवश्यक छ । जीवन चलाउन, परिवार पाल्न र भविष्य सुरक्षित गर्न यसको महत्त्व अस्वीकार गर्न सकिँदैन । तर, पैसा नै सबैथोक होइन । जब मानिसको मूल्य उसको चरित्र, इमानदारी र योगदानबाट नभई आर्थिक हैसियत, पहुँच र प्रचारबाट मापन हुन थाल्छ, तब समाजको नैतिक आधार कमजोर हुन्छ । सामाजिक सञ्जालमा हिरो बन्नु ठूलो कुरा होइन, वास्तविक जीवनमा असल मानिस बन्न सक्नु ठूलो कुरा हो ।

पोस्टले चर्चा कमाउन सक्छ । तर, कर्मले इतिहास बनाउँछ । संस्कारको भाषण गर्न सजिलो छ, संस्कारअनुसार बाँच्न कठिन । अधिकार माग्न सजिलो छ, कर्तव्य पूरा गर्न कठिन । समाजको आलोचना गर्न सजिलो छ, आफूलाई सुधार्न कठिन ।

एक पटक सोचौं । हामी समाजका लागि केही गरिरहेका छौँ कि समाजले हामीलाई हेरोस् भनेर मात्र बाँचिरहेका छौँ? हामी संस्कार जोगाइरहेका छौँ कि संस्कारको नाममा प्रदर्शन गरिरहेका छौँ? हामी सम्बन्ध निभाइरहेका छौँ कि आवश्यक पर्दा मात्र सम्बन्धको उपयोग गरिरहेका छौँ?