जनकपुरधाम, ०५ असोज । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै जनकपुरधाम उपमहानगरपालिकाका पूर्वमेयर स्वर्गीय राजदेव मिश्रका नाती कौशल किशोर मिश्रले वडा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी अघि बढाएका छन् ।

मिश्रले सामाजिक सञ्जालमार्फत आगामी २०८४ सालको स्थानीय निर्वाचनमा जनकपुरधाम–४ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिने सोच बनाएको सार्वजनिक गरेका हुन् ।

यद्यपि, उम्मेदवारीको अन्तिम निर्णय भने आफूले एक्लै नगर्ने र वडावासीको सुझाव तथा रायका आधारमा अघि बढ्ने उनको भनाइ छ ।

मिश्रले वडा अध्यक्ष पदमा उम्मेदवारीलाई व्यक्तिगत राजनीतिक महत्वकांक्षाभन्दा पनि वडाको आवश्यकता र स्थानीय बासिन्दाका अपेक्षासँग जोडेर हेर्नुपर्ने बताए ।

उनले वडामा विद्यमान समस्या, प्राथमिकताका विषय र विगतमा पूरा हुन नसकेका कामबारे वडावासीबाट प्रत्यक्ष सुझाव लिन चाहेको बताए ।

उनले वडावासीसँग आफ्नो उम्मेदवारीबारे समर्थन वा असहमति जे भए पनि खुलेर धारणा राख्न आग्रह गरेका छन् ।

वडा अध्यक्षका रूपमा आफूले के गर्नुपर्ने, पहिलो प्राथमिकता कुन विषयलाई दिनुपर्ने तथा वडाको विकासका लागि आवश्यक कामहरू के–के हुन् भन्ने विषयमा सुझाव मागेका छन् ।

‘वडा अध्यक्ष बन्ने सपना देख्नुभन्दा पहिले वार्डवासीको मन बुझ्न चाहन्छु’ भन्ने धारणा राख्दै मिश्रले स्थानीय तहको नेतृत्व जनताको आवश्यकता र अपेक्षाबाट निर्देशित हुनुपर्ने बताए ।

उनले भने, ‘जनप्रतिनिधिका लागि निर्वाचन जित्नु मात्रै पर्याप्त विषय नभई निर्वाचित भएपछि जनताको अपेक्षा सम्बोधन गर्न सक्ने क्षमता, वडाका समस्या बुझ्ने प्रतिबद्धता र स्थानीय बासिन्दासँग निरन्तर संवाद आवश्यक हुन्छ ।’

मिश्रले वडावासीसमक्ष मुख्यतः पाँच विषयमा राय मागेका छन् । वडाको सबैभन्दा ठूलो समस्या के हो, वडा अध्यक्षले पहिलो प्राथमिकतामा कुन काम गर्नुपर्छ, विगतमा हुन नसकेका कुन काम अब पूरा गर्नुपर्छ, वडावासीले कस्तो नेतृत्व चाहन्छन् र आफ्नो उम्मेदवारीप्रति स्थानीयको धारणा के छ भन्ने विषयमा उनले सुझाव मागेका हुन् ।

उनले आफूलाई समर्थन गर्नेहरूबाट मात्रै नभई आलोचना र असहमति राख्नेहरूबाट पनि सुझाव लिन तयार रहेको बताए ।

स्थानीय तहको नेतृत्वका लागि जनताको वास्तविक आवश्यकता पहिचान गर्नु पहिलो चरण भएको उनको भनाइ छ ।

मिश्रले आफ्नो सार्वजनिक अपिलमा ‘चुनाव जित्ने सुझावभन्दा जनताको मन जित्ने बाटो देखाउने सुझाव’ आफूलाई आवश्यक रहेको उल्लेख गरेका छन् ।

उनले वडावासीको प्रतिक्रिया, सुझाव र प्रश्नलाई आफ्नो सम्भावित उम्मेदवारीको निर्णयका लागि महत्वपूर्ण आधारका रूपमा लिने बताए ।

उनको अभिव्यक्तिमा जनकपुरधाम–४ को स्थानीय विकास, वडावासीसँगको प्रत्यक्ष संवाद तथा जनअपेक्षामा आधारित नेतृत्व निर्माणलाई प्राथमिकतामा राखिएको छ ।

आगामी स्थानीय निर्वाचनलाई अझै समय रहेकाले मिश्रको उम्मेदवारी अन्तिम रूपमा तय भइसकेको औपचारिक घोषणा भने भएको छैन ।

उनले हालका लागि वडावासीको राय संकलन गर्ने र त्यसपछि उम्मेदवारीबारे निर्णय लिने बताए ।

स्थानीय युवा मिश्रले ‘तपाईं बोल्नुहोस्, म सुन्छु, तपाईं सुझाव दिनुहोस्, म सिक्छु’ भन्दै वडावासीसँग संवादको वातावरण बनाउन आग्रह गरेका छन् ।

उनले जनकपुरधाम–४ को भविष्यबारे स्थानीय बासिन्दासँगै छलफल गरेर अघि बढ्ने बताएका छन् ।