गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस
जनकपुरधाम, २७ भदौ । गुठीको नाममा घरजग्गाबाट विस्थापित गर्न खोजिएको आरोप लगाउँदै जनकपुरधाममा मसाल जुलुस प्रदर्शन गरिएको छ ।
गुठी तथा सरकारको विरोधमा निकालिएको मसाल जुलुसमा सहभागीहरूले स्थानीयको घरजग्गा हटाउने तथा भत्काउने कार्य तत्काल रोक्न माग गरेका छन् ।
प्रदर्शनकारी सन्तोषकुमार साहले संविधानले भूमिहीन तथा आर्थिक रूपमा विपन्न नागरिकको व्यवस्थापन गर्ने जिम्मेवारी राज्यलाई दिएको भए पनि जनकपुरधाममा गुठीको आडमा स्थानीयको घरजग्गा हटाउन खोजिएको आरोप लगाए ।
उनले काठमाडौंमा ठूलो परिमाणमा गुठीको जग्गा रहे पनि त्यसतर्फ ध्यान नदिई जनकपुरधामका स्थानीयलाई मात्रै गुठीको नाममा विस्थापित गर्न खोजिएको दाबी गरे ।
यही विषयको विरोधमा आन्दोलनको पहिलो चरणअन्तर्गत मसाल जुलुस निकालिएको साहले बताए ।
साहले सरकारले स्थानीयको घर भत्काउने तथा तोडफोड गर्ने गतिविधि तत्काल रोक्नुपर्ने माग गरे ।
आफूहरूको माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउँदै अन्य स्थानका नागरिकलाई समेत सहभागी गराउने चेतावनी उनले दिए ।
उनका अनुसार आगामी दिनमा आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिनेछ । जनकपुरधाममा मात्रै सीमित नरहने गरी विभिन्न स्थानबाट नागरिकलाई सहभागी गराएर जनकपुरधाम हुँदै काठमाडौंसम्म आन्दोलन विस्तार गर्ने तयारी भइरहेको साहले दाबी गरे ।
उनले स्थानीयको घरजग्गा र बसोबासको अधिकारसँग जोडिएको विषयमा सरकार गम्भीर बन्नुपर्ने मागसमेत गरेका छन् ।


