६ फरार प्रतिवादी पक्राउ
जनकपुरधाम, २५ भदौ । धनुषा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अदालतको फैसला कार्यान्वयनअन्तर्गत प्रहरीले खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये तीन जनालाई कुटपिट तथा लुटपिट मुद्दामा जनही ८३ रुपैयाँ जरिवाना तोकिएको थियो । त्यस्तै, अर्का एक जनालाई कुटपिट मुद्दामा १ हजार ३ सय ५० रुपैयाँ जरिवाना तोकिएको थियो ।
यसैगरी, किर्ते तथा ठगी मुद्दामा दोषी ठहर भएका दुई जनालाई जनही ११ महिना ९ दिन कैद सजाय तोकिएको थियो । उनीहरूमध्ये एक जनालाई १ लाख ९० हजार १ सय रुपैयाँ र अर्का एक जनालाई २० हजार रुपैयाँ जरिवाना समेत तोकिएको प्रहरीले जनाएको छ ।
अदालतबाट सजाय तोकिएपछि वारदातपश्चात् फरार रहेका उनीहरूलाई प्रहरी टोलीले खोजी गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन् ।


