सप्तरी, २५ भदौ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले बच्चा जन्माएको घटनाबारे अस्पतालले आन्तरिक छानबिन अघि बढाउने जनाएको छ ।

अस्पतालले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

अस्पतालको अभिलेखअनुसार राजविराज नगरपालिका–१४ पर्साहीकी बबिताकुमारी पासवान बुधबार बिहान करिब २ बजे प्रसवको सुरुवाती अवस्थामा अस्पताल पुगेकी थिइन् ।

अस्पतालका अनुसार प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई प्रसूति वार्डको बेड नम्बर २४ मा भर्ना गरिएको थियो । आवश्यक स्वास्थ्य परीक्षणका रिपोर्ट नभएकाले चिकित्सकले आवश्यक जाँच गराउन सुझाव दिएको अस्पतालको भनाइ छ ।

तर, त्यसपछि अस्पतालले उपलब्ध गराएको शैयामा नरही उनी बाहिरिएको र बिहान करिब ४ः४५ बजे अस्पतालको मूल गेटबाहिर प्रसूति भएको जानकारी प्राप्त भएको अस्पतालले जनाएको छ ।

प्रसूति भएपछि आमा र नवजात शिशुलाई सालनालसहित पुनः प्रसूति वार्डमा ल्याइएको र ड्युटीमा रहेका स्वास्थ्यकर्मीले नाल काट्नुका साथै आवश्यक स्वास्थ्य उपचारका लागि अस्पतालमै रहन पटकपटक आग्रह गरेको अस्पतालको दाबी छ । तर, उनी अस्पतालबाट बाहिरिएको प्रारम्भिक विवरण प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।

हाल बबिता र नवजात शिशु दुवै अस्पतालको बेड नम्बर २२ मा भर्ना भई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचाररत रहेको अस्पतालले जनाएको छ । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालको भनाइ छ ।

घटनापछि अस्पतालले आमा र बच्चालाई आवश्यक सम्पूर्ण स्वास्थ्य उपचार, औषधि तथा अन्य सेवा निःशुल्क उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

अस्पतालको मूल गेटमै प्रसूति हुनुपर्ने अवस्था सिर्जना हुनु संवेदनशील र गम्भीर विषय भएको भन्दै प्रशासनले घटनाको वास्तविक तथ्य पत्ता लगाउन आन्तरिक छानबिन प्रक्रिया अघि बढाउने जनाएको छ ।

छानबिनबाट कुनै कर्मचारी वा सम्बन्धित पक्ष दोषी देखिए प्रचलित कानुन तथा नियमअनुसार आवश्यक कारबाही गर्ने प्रतिबद्धता अस्पतालले जनाएको छ ।

सम्बन्धित निकायबाट बाह्य छानबिन समिति गठन भए त्यसलाई आवश्यक सूचना, कागजात तथा सहयोग उपलब्ध गराउनेसमेत अस्पतालले स्पष्ट पारेको छ ।

आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन प्रसूति सेवा व्यवस्थापन, सेवा प्रवाह तथा सेवाग्राहीप्रतिको जवाफदेहिता थप सुदृढ बनाउने अस्पतालले जनाएको छ ।

घटनाको पूर्ण तथ्य छानबिनबाट बाहिर नआएसम्म सत्यतथ्यमा आधारित सूचना सम्प्रेषण गर्न तथा अपुष्ट विवरणको प्रसार नगर्न अस्पतालले नागरिक र सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।