कोशी ब्यारेजमा पानीको बहाव १ लाख ९० हजार क्युसेक, जोखिम कायमै
जनकपुरधाम, १५ भदौ । कोशी नदीमा पानीको बहाव उच्च रहेपछि कोशी ब्यारेजमा जोखिम कायमै रहेको छ ।
सोमबार दिउँसो २ः२० बजेको मापनअनुसार ब्यारेजमा पानीको बहाव १ लाख ९० हजार २ सय ९५ क्युसेक पुगेको छ ।
पानीको बहाव पछिल्लो मापनको तुलनामा घट्दो क्रममा रहे पनि ब्यारेजमा अझै खतरा तह कायम रहेको जनाइएको छ ।
उच्च बहावलाई व्यवस्थापन गर्न कोशी ब्यारेजका २० वटा ढोका खोलिएका छन् ।

नदीमा पानीको सतह र बहाव उच्च रहेकाले ब्यारेज तथा तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
पानीको बहाव घट्दै गए पनि जोखिम पूर्ण रूपमा टरिनसकेको भन्दै सम्बन्धित निकायले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सावधानी अपनाउन आग्रह गरेका छन् ।


