वीरगञ्जबाट निषेधाज्ञा हटाइयो, जनजीवन पुनः सामान्य बन्दै

पर्सा, १६ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा जारी निषेधाज्ञा हटाएको छ ।
पछिल्ला दिनमा सुरक्षा अवस्था सामान्य बन्दै गएपछि शनिबारदेखि निषेधाज्ञा हटाउने निर्णय गरिएको प्रशासनले जनाएको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार जुलुस, प्रदर्शन तथा हुलदङ्गाका गतिविधि उल्लेख्य रूपमा घटेपछि निषेधाज्ञा कायम राख्नुपर्ने अवस्था नरहेकाले उक्त आदेश फिर्ता गरिएको हो ।
वीरगञ्जमा गत साउन १४ गते साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्म प्रत्येक दिन साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको थियो ।
सम्भावित अप्रिय घटना रोक्न र शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले प्रशासनले उक्त निर्णय गरेको थियो ।
यसैबीच, सिरहाको गोलबजार घटनामा मृत्यु भएका व्यक्तिका परिवार र सरकारबीच आठबुँदे सहमति भएपछि मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढेको छ ।
त्यससँगै आन्दोलनरत हिन्दू समाज तथा विभिन्न हिन्दूवादी सङ्घसंस्थाले आफ्ना विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन् ।
आन्दोलनका कार्यक्रम रोकिएसँगै वीरगञ्जसहित आसपासका क्षेत्रमा बजार, यातायात, उद्योग व्यवसाय तथा सर्वसाधारणको दैनिक जनजीवन क्रमशः सामान्य अवस्थामा फर्किन थालेको प्रशासनले जनाएको छ ।

