सुनसरी र सिरहा घटनाको विरोधमा जलेश्वर र गौशाला बन्द, सुरक्षा व्यवस्था कडा

महोत्तरी, १५ साउन । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर तथा गौशाला बजार शुक्रबार बन्द गरिएको छ ।
हिन्दुवादी संघसंगठनको आह्वानमा भएको बन्दका कारण दुवै बजार क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
जलेश्वरमा प्रदर्शनकारीहरूले विभिन्न चोकमा टायर बालेर विरोध जनाएका थिए ।
प्रदर्शनका कारण बजार, व्यवसाय तथा सार्वजनिक सवारीसाधनको सञ्चालन प्रभावित भएको छ भने सडकमा सर्वसाधारणको चहलपहल पनि न्यून देखिएको थियो ।
यस्तै, जिल्लाको प्रमुख व्यापारिक केन्द्र गौशालामा पनि हिन्दुवादी संघसंगठनका कार्यकर्ताले प्रदर्शन गर्दै बजार तथा व्यवसाय बन्द गराएका छन् । बन्दका कारण दैनिक व्यापारिक गतिविधि प्रभावित बनेको छ ।
महोत्तरी प्रहरीले भने जिल्लाको सुरक्षा अवस्था सामान्य रहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डीएसपी पञ्चलाल गोलेका अनुसार केही स्थानमा छिटफुट विरोध प्रदर्शन भए पनि समग्र अवस्था नियन्त्रणमा रहेको छ ।
कुनै पनि अप्रिय घटना हुन नदिन जिल्लाभर सुरक्षा व्यवस्था थप सुदृढ पारिएको उनले बताए ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय महोत्तरीले शान्ति, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा आपसी भाइचारा कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।
प्रशासनले अफवाहको पछि नलाग्न तथा कानुनको पालना गर्दै शान्तिपूर्ण वातावरण कायम राख्न जिल्लावासीसँग अपिल गरेको छ ।





