पुराना तीन दलकै सत्ता खेलले संघ र प्रदेशमा अस्थिरता: जनमत पार्टी

जनकपुरधाम, ११ साउन । जनमत पार्टीले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपालाई सत्ता केन्द्रित राजनीति गरिरहेको आरोप लगाउँदै यिनै दलका कारण संघ र प्रदेश दुवै तहमा राजनीतिक अस्थिरता बढेको दाबी गरेको छ ।
मधेश प्रदेश सभामा प्रमुख विपक्षी भूमिकामा रहेको जनमत पार्टीले प्रदेश सरकारको सम्भावित सत्ता समीकरण परिवर्तनमा पनि पुराना दलहरूकै स्वार्थ हाबी भएको टिप्पणी गरेको हो ।
जनमत पार्टीका मधेश प्रदेश सभा सदस्य चन्दन सिंहले कांग्रेस, एमाले र नेकपा सधैं सत्तामा रहिरहने उद्देश्यले गठबन्धन बनाउने र तोड्ने खेलमा लागेको आरोप लगाए ।
उनका अनुसार कांग्रेसले प्रतिपक्षविहीन सरकार नबनाउने सिद्धान्त अघि सारे पनि व्यवहारमा त्यसलाई पालना गर्न नसकेको छ ।
सिंहले संघीयता स्थापनाका लागि मधेशले ठूलो बलिदान दिएको स्मरण गराउँदै अहिले संघीयताको पक्षमा संघर्ष गरेका शक्तिहरूलाई पाखा लगाएर पुराना दलहरूले सत्ता केन्द्रित राजनीति गरिरहेको बताए ।
सत्ता समीकरण परिवर्तनको चर्चा चलिरहेकै बेला मधेशका मुख्यमन्त्री आफ्नो सरकार जोगाउन केन्द्रदेखि प्रदेश तहसम्मका नेतासँग सक्रिय छलफलमा लागेको उनले दाबी गरे ।
उनले वर्तमान मधेश सरकारले ल्याएको बजेट पनि निष्पक्ष नभई आफ्नै जिल्ला, नातागोता र निकट व्यक्तिलाई लक्षित गरेर विनियोजन गरिएको आरोप लगाए ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफ्नो जिल्लामा अस्वाभाविक रूपमा धेरै बजेट केन्द्रित गरेको उनको भनाइ छ ।
सरकार परिवर्तनको विषयमा अन्य दलहरूसँग सामान्य स्तरको संवाद भए पनि कुनै औपचारिक सहमति वा प्रक्रिया अघि नबढेको सिंहले स्पष्ट पारे ।
यस्तै, जनमत पार्टीका अर्का प्रदेश सभा सदस्य संजय कुमार यादवले विचार, नीति र एजेन्डा नै नमिल्ने दलहरूबीच सत्ता साझेदारीका लागि बनाइने गठबन्धनकै परिणामस्वरूप देशमा बारम्बार सरकार परिवर्तन हुने अवस्था सिर्जना भएको बताए ।
उनले संघीय सरकार स्थिर रहेको भए पनि पुराना दलहरूले अवसर पाए पटकपटक सरकार परिवर्तन गर्ने प्रवृत्ति देखाउने दाबी गरे ।
उनका अनुसार संघमा सरकार फेरिएलगत्तै त्यसको प्रभाव प्रदेश सरकारमा पनि पर्ने गरेको छ ।
यादवले मधेश प्रदेशमा मधेशवादी दलकै नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राख्दै सरकार गठनका विषयमा जनता समाजवादी पार्टी (जसपा) नेपालसँग सामान्य छलफल भएको स्वीकार गरे । तर, त्यसलाई औपचारिक वार्ता वा सहमतिको चरणमा पुगेको भन्न नमिल्ने उनको भनाइ थियो ।
प्रदेशका नेताहरूले आफ्नै निर्णय गर्न नसकी शीर्ष नेतृत्वको निर्देशनमा मात्र चल्ने प्रवृत्तिका कारण प्रदेश सरकार बारम्बार अस्थिर बन्दै गएको जनमत पार्टीको निष्कर्ष छ ।

