जनकपुरधाम, ०९ साउन । रौतहटको विश्रामपुर नगरपालिका–२ स्थित नेपाल युवा क्लब (पुस्तकालय) परिसरमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ ।

नेपाल नेत्रज्योति संघ, गौर आँखा अस्पताल तथा नेपाल ब्रह्मर्षि समाज जिल्ला कार्य समिति रौतहटको संयुक्त आयोजनामा शनिबार शिविर सञ्चालन गरिएको हो ।

शिविरको उद्घाटन मधेश प्रदेश सरकारका पूर्वमन्त्री तथा सर्लाही निर्वाचन क्षेत्र नं. ४ (क) का प्रदेशसभा सदस्य बीरेन्द्र प्रसाद सिंहले गरेका थिए । उद्घाटन समारोहकै अवसरमा उनले वृक्षारोपण गर्दै वातावरण संरक्षणप्रति सबैको साझा दायित्व रहेको सन्देश दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य सिंहले स्वास्थ्य सेवा र वातावरण संरक्षण दुवै समाजको समृद्धिसँग प्रत्यक्ष जोडिएका विषय भएको उल्लेख गर्दै यस्ता सेवामूलक कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकलाई ठूलो राहत पुग्ने बताए । उनले सरकारी निकाय र सामाजिक संस्थाबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिए ।

शिविरमार्फत मोतियाबिन्दुका बिरामीलाई निःशुल्क शल्यक्रिया सेवा उपलब्ध गराइएको आयोजकले जनाएको छ । विशेषगरी आर्थिक रूपमा कमजोर तथा उपचारको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरबाट स्थानीयवासीले सहज रूपमा विशेषज्ञ आँखा उपचार सेवा प्राप्त गरेका छन् ।

आयोजक संस्थाहरूका अनुसार यस्ता स्वास्थ्य सेवा कार्यक्रमले समयमै उपचार नपाउँदा दृष्टि गुमाउने जोखिममा रहेका नागरिकलाई ठूलो राहत पुर्याएको छ । आगामी दिनमा पनि ग्रामीण तथा दुर्गम क्षेत्रमा निःशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविरलाई निरन्तरता दिइने प्रतिबद्धता आयोजकले व्यक्त गरेका छन् ।