जनकपुरधाम, ०३ असार । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले ट्राफिक नियमको पालना नगर्नु नै सवारी दुर्घटनाको प्रमुख कारण बनेको बताएका छन् ।

सडक सुरक्षा तथा ट्राफिक सचेतनामूलक सप्ताह कार्यक्रमको उद्घाटन गर्दै उनले सडक सुरक्षालाई ध्यानमा राखेर बनाइएका ट्राफिक नियमहरूको पालना सबै सवारी चालकले अनिवार्य रूपमा गर्नुपर्नेमा जोड दिएका हुन् ।

मन्त्री महतोले ट्राफिक नियम उल्लंघनका कारण सडक दुर्घटनाका घटना बढ्दै गएको उल्लेख गर्दै चालकहरूलाई जिम्मेवार र अनुशासित बन्न आग्रह गरे ।

सडक सञ्जालको विस्तारसँगै सवारी साधनको संख्या पनि तीव्र रूपमा बढिरहेको र त्यसको प्रत्यक्ष प्रभाव दुर्घटनाको दरमा देखिएको उनको भनाइ थियो ।

‘सडक सुरक्षा ट्राफिक प्रहरीको मात्र जिम्मेवारी नभई यसमा चालक, यात्रु र आम नागरिक सबैको भूमिका महत्वपूर्ण हुन्छ,’मन्त्री महतोले भने, ‘सडक प्रयोग गर्ने प्रत्येक व्यक्तिले नियम पालना गरे मात्र दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।’

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले जनकपुरधाममा ई–रिक्साको संख्या तीव्र रूपमा बढ्दै गएको भन्दै चालकहरूलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्ने प्रक्रिया सहज बनाउन सम्बन्धित निकायसँग आग्रह गरे ।

उनले धेरै ई–रिक्सा चालकहरू लिखित परीक्षामा असफल हुने कारण बिना लाइसेन्स नै सवारी सञ्चालन गरिरहेको बताए ।

नगर प्रमुख साहले बढ्दो ई–रिक्सा सञ्चालनलाई व्यवस्थित गर्न चालक प्रशिक्षण, सचेतना र लाइसेन्स वितरण प्रक्रियामा सुधार आवश्यक रहेको धारणा व्यक्त गरे ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख ज्ञानेन्द्र बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी वक्ताहरूले ट्राफिक नियम उल्लंघन र सवारी दुर्घटनाका घटनामा भइरहेको वृद्धिप्रति चिन्ता व्यक्त गर्दै सडक सुरक्षामा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

ट्राफिक सप्ताहको अवसरमा रामानन्द चोकबाट प्रभातफेरी निकालिएको थियो । प्रभातफेरी महेन्द्र नारायण निधि संग्रहालयमा पुगेर समापन गरिएको थियो ।

सप्ताहअन्तर्गत चालक तथा पैदल यात्रुसँग ‘एक मिनेट संवाद’ कार्यक्रम, पर्चा–पम्प्लेट वितरण, जनचेतनामूलक अभियान लगायतका गतिविधि सञ्चालन गरिएको आयोजकले जनाएको छ ।