अन्तर्राष्ट्रिय स्वर्ण विजेता कुस्ती खेलाडी जनक यादव सम्मानित

जनकपुरधाम, ०३ असार । अन्तर्राष्ट्रिय स्तरमा स्वर्ण पदक जितेर नेपालको गौरव बढाएका कुस्ती खेलाडी जनक यादवलाई जनकपुरधाममा सम्मान गरिएको छ ।
मधेश खेलकुद परिषद्को आयोजनामा बुधबार आयोजित कार्यक्रममा यादवलाई सम्मान गर्दै उनको उपलब्धिले नेपाललाई अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा चिनाउन महत्वपूर्ण योगदान पुर्याएको बताइएको छ ।
सम्मान कार्यक्रममा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री लखन दास, मधेश खेलकुद परिषद्का पदाधिकारी, खेलकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले जनक यादवको सफलता युवा खेलाडीहरूका लागि प्रेरणाको स्रोत बनेको उल्लेख गर्दै खेल क्षेत्रको विकासका लागि राज्यले थप लगानी र प्रोत्साहन आवश्यक रहेको धारणा राखे ।
सम्मान ग्रहणपछि यादवले प्राप्त सफलताले आफूलाई अझ मेहनत गर्न प्रेरणा दिएको बताउँदै आगामी प्रतियोगिताहरूमा पनि उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम उच्च राख्ने प्रतिबद्धता व्यक्त गरे ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्न सफल यादवको सम्मानले मधेश प्रदेशमा खेलकुदप्रति आकर्षण बढ्नुका साथै नयाँ पुस्तालाई खेल क्षेत्रमा अघि बढ्न थप उत्साह मिल्ने विश्वास गरिएको छ ।

