पर्सा, २४ बैशाख । त्रिभुवन राजपथअन्तर्गत वीरगञ्जको मुख्य सडक विस्तार गर्ने सरकारी तयारीविरुद्ध स्थानीय बासिन्दा र व्यवसायीहरू सडकमा उत्रिएका छन् ।

गण्डकदेखि मितेरी पुलसम्मका घरधनी तथा व्यापारीहरूले बिहीबार मानव साङ्लो बनाएर विरोध प्रदर्शन गर्दै ‘डोजर आतंक’ बन्द गर्न माग गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले सडकको दुवैतर्फ उभिएर हातेमालो गर्दै वर्तमान विस्तार योजनाप्रति असन्तुष्टि जनाए ।

उनीहरूले ‘विकास चाहिन्छ, विनाश होइन’, ‘वैकल्पिक उपाय खोज’, ‘मेनरोडलाई सहरी मार्गका रूपमा संरक्षण गर’ लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए ।

स्थानीयहरूले वर्षौंदेखि कानुनी प्रक्रिया पूरा गरेर बनाइएका घर तथा व्यापारिक संरचना हटाउने तयारीले हजारौँ परिवार प्रभावित हुने बताएका छन् ।

उनीहरूका अनुसार मुख्य व्यापारिक क्षेत्र ध्वस्त पारेर गरिने सडक विस्तारले वीरगञ्जको आर्थिक गतिविधि र ऐतिहासिक पहिचानमा गम्भीर असर पर्नेछ ।

वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगीले आफूहरू विकासविरोधी नभएको स्पष्ट पार्दै सरकारलाई वैज्ञानिक र व्यावहारिक समाधान खोज्न आग्रह गरे ।

उनले उचित अध्ययन, मुआब्जा र वैकल्पिक व्यवस्थाविना गरिने सडक विस्तार स्वीकार्य नहुने बताए ।

सरावगीले वीरगञ्जको मुख्य सडकलाई यातायात मार्ग मात्र नभई शहरको आर्थिक तथा ऐतिहासिक केन्द्रका रूपमा व्याख्या गर्दै बाइपास सडक सञ्चालनमा आइसकेकाले पुरानो व्यापारिक क्षेत्र जोगाएर आधुनिक सहरी व्यवस्थापन गर्न सकिने धारणा राखे ।

सडक विस्तारको चर्चा बढेसँगै वीरगञ्जको व्यापारिक क्षेत्रमा अन्योल र त्रास फैलिएको स्थानीय व्यवसायीहरूको भनाइ छ ।

स्थानीय प्रशासनले सडक सीमाभित्र पर्ने संरचना हटाउन सूचना जारी गरिसकेको छ भने प्रभावित पक्षले माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन् ।