-ज्योति झा
जनकपुरधाम, २४ बैशाख ।
स्कूल पढ्दाको समय धेरैजसोको सम्झनामा एउटा समान अनुभव हुन्छ—डायरी लेख्ने बानी । त्यही डायरीमा मन पर्ने हिरो–हिरोइन, मन पर्ने खानाजस्ता सामान्य प्रश्नसँगै कहिलेकाहीँ एउटा गहिरो प्रश्न पनि हुन्थ्यो—’राजनीति के हो?’ धेरै विद्यार्थीको तत्कालीन उत्तर प्रायः एउटै हुन्थ्यो—’Politics is a dirty game’, अर्थात् राजनीति फोहोरी खेल हो ।

त्यो उत्तर न त अनुसन्धानबाट आएको थियो, न त गहिरो बुझाइबाट; बरु परिवेश, सुनाइ र समाजमा देखिने विकृत दृश्यहरूको प्रभाव थियो । साथीहरूको भनाइ, समाचारमा आउने विवाद, नेताहरूबीचको आरोप प्रत्यारोपहरूले बालसुलभ मनोविज्ञानमा राजनीति भनेकै गलत कामहरूको केन्द्र हो भन्ने धारणा बनाइदिएको थियो ।

त्यही सोचलाई मैले पनि कुनै समय दोहोर्‍याएको थिएँ । तर, समयसँगै उमेर, अनुभव र बुझाइ बढ्दै जाँदा त्यो सरल निष्कर्ष क्रमशः प्रश्नमा बदलियो—के राजनीति साँच्चै फोहोरी खेल हो? वा हामीले बुझ्न नसकेको समाज चलाउने सबैभन्दा महत्वपूर्ण प्रणाली हो?

उमेरसँगै एउटा वास्तविकता स्पष्ट हुँदै गयो—राजनीति मात्र संसद, पार्टी कार्यालय वा चुनावी भाषणमा सीमित छैन । राजनीति त हाम्रो दैनिक जीवनको हरेक तहमा उपस्थित छ ।

परिवारभित्रको निर्णय प्रक्रियादेखि लिएर विद्यालय, कार्यालय, समुदाय र राज्यसम्म—जहाँ निर्णय हुन्छ, त्यहाँ कुनै न कुनै रूपमा राजनीति हुन्छ । को बोल्ने, को सुन्ने, को निर्णय लिने, स्रोत कसरी बाँड्ने? यी सबै प्रश्नहरू राजनीतिक प्रकृतिका हुन् ।

साथीभाइबीचको सम्बन्ध, समूहको नेतृत्व, संगठनको संरचना, अन्तर्राष्ट्रिय कूटनीति—यी सबैमा शक्ति, सहमति र निर्णयको खेल चलिरहेको हुन्छ । यस अर्थमा राजनीति कुनै अलग संसार होइन; यो त समाजको सञ्चालन प्रणाली हो ।

यद्यपि, राजनीति आवश्यक र अपरिहार्य भए पनि हाम्रो समाजमा यसप्रति विश्वास निरन्तर घट्दै गएको देखिन्छ । जनतामा एक प्रकारको निराशा गहिरिँदै गएको छ । ‘नेताहरूले किन जनताको अपेक्षा पूरा गर्न सक्दैनन्?’

लोकतन्त्रको आधार नै जनता हो । ‘जनता जनार्दन’ भन्ने भनाइ भाषणको सुन्दर वाक्य मात्र नभई लोकतान्त्रिक व्यवस्थाको मूल आत्मा हो । चुनाव जनताको अधिकार र भविष्य निर्धारण गर्ने प्रक्रिया हो । कानुन र प्रशासन जनताको सुरक्षा र न्यायका लागि हुन् ।

पत्रकारिता जनतालाई सचेत बनाउनका लागि हो । इन्जिनियरले बनाउने पुल, सडक र डाक्टरले दिने उपचार पनि अन्ततः जनताको जीवन सहज बनाउनकै लागि हुन् ।

तर, यिनै सबै संरचनाको केन्द्रमा रहेको जनता नै धेरै पटक उपेक्षित, असहाय र निर्णय प्रक्रियाबाट टाढा देखिन्छ । यही विरोधाभासले राजनीतिप्रति अविश्वास बढाउँदै लगेको छ ।

इतिहासले बारम्बार देखाएको छ कि सत्ता स्थायी हुँदैन । कुर्सी कसैको निजी सम्पत्ति होइन । यो समय, परिस्थिति र जनविश्वासको परिणाम हो । आज शक्तिमा रहेको व्यक्ति वा समूह भोलि इतिहासको पानामा मात्र सीमित हुन सक्छ ।

तर, जनताको लागि काम गर्ने नेतृत्व भने समयसँगै अझ मजबुत हुँदै जान्छ । सत्ता बाहिर हुँदा पनि उसले सम्मान पाउन सक्छ । यसको विपरीत जनताको अपेक्षा र विश्वास तोड्नेहरूलाई समयले नै कठोर मूल्याङ्कन गर्छ ।

यसैले राजनीति पद र शक्तिको खेल नभई यो विश्वासको निरन्तर परीक्षा हो ।

चुनाव नजिकिँदा समाजमा फरक दृश्य देखिन्छ । एकातिर आफ्ना नेताको प्रशंसा र गुणगान, अर्कोतिर विरोधीमाथि आरोप प्रत्यारोप । सामाजिक वातावरण भावनात्मक र कहिलेकाहीँ विभाजित बन्न पुग्छ । तर, यी सबैबीच एउटा प्रश्न हराउँछ, ‘वास्तवमा राम्रो नेता को हो?’

के राम्रो नेता लोकप्रियतामा आधारित हुन्छ? कि काम, निष्ठा र दीर्घ दृष्टिमा आधारित हुन्छ? यही प्रश्नको उत्तर स्पष्ट नभएसम्म राजनीति सधैं भ्रम र असन्तुष्टीको चक्रमा घुमिरहन्छ ।

आजको बहसमा एउटा महत्वपूर्ण विषय छ—युवालाई राजनीतिमा अवसर दिनुपर्ने । युवामा ऊर्जा, नवीन सोच र परिवर्तनको चाहना हुन्छ । तर, युवा हुनु मात्रले सक्षम नेतृत्वको ग्यारेन्टी दिन सक्दैन ।

त्यसैगरी, लामो समय राजनीति गरेका व्यक्तिलाई मात्र असफल भनेर खारेज गर्नु पनि न्यायोचित हुँदैन । अनुभव, परिपक्वता र समयले सिकाएको व्यवहारिक समझदारी नेतृत्वका महत्वपूर्ण आधार हुन् ।

वास्तविक आवश्यकता उमेर नभई क्षमता हो, पुस्ता नभई दृष्टिकोण हो । आजको समाजमा एउटा गम्भीर प्रश्न उठिरहेको छ—मानवता कहाँ हरायो?

नेताहरू धेरै छन् । तर, जनताको समस्या समाधान गर्ने संवेदनशीलता कम हुँदै गएको अनुभूति हुन्छ । जनता धेरै पटक भोट बैंक जस्तो देखिन्छन् । र, जनताले पनि कहिलेकाहीँ नेताहरूलाई आशाको अन्तिम सहारा मानेर निरन्तर अवसर दिइरहेका हुन्छन् । तर, आशा र निराशाको यो चक्र अझै टुट्न सकेको छैन । यही निरन्तर दोहोरिने चक्रले राजनीतिप्रति अविश्वास अझ बढाउँदै लगेको छ ।

नेपालको राजनीतिक इतिहासमा पटक पटक नयाँ लहर देखिएका छन् । कहिले पुराना दलको वर्चस्व, कहिले नयाँ शक्तिको उदय, कहिले क्षेत्रीय आन्दोलनको प्रभाव । तर, प्रश्न फेरि पनि उही रहन्छ—के लोकप्रियता नै नेतृत्वको मापन हो?

आजको डिजिटल युगमा सामाजिक सञ्जालका भ्युज, लाइक र फलोअर पनि प्रभावको मापदण्ड बन्न थालेका छन् । तर, वास्तविक शासन चलाउने क्षमता यी कुराले निर्धारण गर्न सक्दैन । राजनीति भावनाको नभई संरचना र निर्णय क्षमताको क्षेत्र हो ।

अन्ततः प्रश्न फेरि पनि उही आउँछ—के राजनीति साँच्चै फोहोर खेल हो? वास्तवमा राजनीति आफैंमा फोहोर वा शुद्ध हुँदैन । यो त एउटा प्रणाली हो, जसलाई चलाउने मानिसहरू र समाजको व्यवहारले यसको स्वरूप निर्धारण गर्छ ।

यदि नेतृत्वमा इमानदारी, पारदर्शिता र उत्तरदायित्व हुन्छ भने राजनीति समाज परिवर्तनको सबैभन्दा शक्तिशाली माध्यम बन्न सक्छ । तर, यदि स्वार्थ, अवसरवाद र शक्ति मोह हाबी भयो भने त्यही राजनीति विकृत देखिन्छ । लोकतन्त्रमा परिवर्तनको अन्तिम शक्ति जनतामै हुन्छ । यदि जनता सचेत, विवेकी र प्रश्न गर्ने क्षमता राख्छन् भने मात्र राजनीति पनि उत्तरदायी र स्वच्छ बन्न सक्छ ।