जनकपुरधाममा कक्षा १–१० का लागि निःशुल्क छात्रवृत्ति आवेदन खुला, परीक्षा जेठ ३ गते

जनकपुरधाम, २१ बैशाख । जनकपुरधाम उपमहानगरपालिकाले कक्षा १ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूका लागि निःशुल्क छात्रवृत्ति प्रदान गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसका लागि आवेदन फाराम भर्ने सूचना जारी गरिएको छ ।
उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाका अनुसार संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि–२०८१ अनुसार छात्रवृत्ति कोटा निर्धारण तथा आरक्षण व्यवस्था लागू गरी विद्यालयस्तरमै छनोट प्रक्रिया अघि बढाइनेछ ।
छात्रवृत्ति प्राप्त गर्न इच्छुक विद्यार्थीहरूले आफू अध्ययन गरिरहेको वा अध्ययन गर्न चाहेको विद्यालयमै गएर आवेदन फाराम भर्नुपर्ने व्यवस्था गरिएको छ ।
सूचनाअनुसार आवेदन फाराम भर्ने अवधि बैशाख २१ गतेदेखि ३१ गतेसम्म तोकिएको छ ।
छात्रवृत्तिका लागि प्रवेश परीक्षा जेठ ३ गते बिहान ८ बजेदेखि सम्बन्धित विद्यालयमै सञ्चालन हुनेछ । परीक्षाको नतिजा जेठ ७ गते प्रकाशन गरिने जनाइएको छ ।
उपमहानगरपालिकाले सबै सम्बन्धित विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई समयमै आवेदन प्रक्रिया पूरा गर्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


