समन्वयविनै तालिम सञ्चालनप्रति पत्रकार महासंघ मधेश प्रदेशका जिल्ला शाखाहरूको आपत्ति

जनकपुरधाम, १५ बैशाख । मधेश प्रदेश सरकारअन्तर्गत आमसञ्चार प्राधिकरणले सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धिका नाममा सञ्चालन गर्दै आएका कार्यक्रमहरूमा संस्थागत समन्वयको अभाव देखिएको भन्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेशका जिल्ला शाखाहरूले आपत्ति जनाएका छन् ।
महासंघका आठवटै जिल्ला शाखाहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा प्राधिकरणले पटकपटक सरोकारवालासँग सहकार्य गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यसको कार्यान्वयन नभएको उल्लेख गरिएको छ ।
विशेषगरी महोत्तरीको बर्दिबासमा वैशाख १५ गतेदेखि सुरु हुन लागेको स्थानीय तहमा पत्रकारिता प्रशिक्षणका लागि प्रशिक्षक तयार पार्ने तीन दिने आवासीय तालिमलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै महासंघले असन्तुष्टि जनाएको हो ।
विज्ञप्तिअनुसार प्रारम्भमा महासंघका जिल्ला शाखाहरूबाट प्रशिक्षक पत्रकारहरूको नामावली माग गरिए पनि त्यसपछि कुनै सार्थक छलफल नगरी प्राधिकरणले अलग्गै सूचना प्रकाशित गरी आवेदन आह्वान गरेको आरोप लगाइएको छ । ‘यसले संस्थागत समन्वयको मर्मविपरीत मात्र नभई महासंघको भूमिका र गरिमामाथि समेत प्रश्न उठाएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
महासंघले २०८२ चैत १७ गतेको पत्रमार्फत मधेशका आठै जिल्लाबाट पाँच–पाँच जनाको नाम सिफारिस गर्न आग्रह गरिएको स्मरण गराउँदै त्यसपछिको प्रक्रियामा महासंघलाई बेवास्ता गरिएको जनाएको छ । साथै, चैत २५ गते प्राधिकरणले छुट्टै सूचना जारी गर्दै विवरण पेश गर्न आह्वान गर्नुले समन्वयको अभाव झनै स्पष्ट पारेको ठहर महासंघको छ ।
यसअघि सञ्चालन गरिएका एआईसम्बन्धी तालिमहरूमा पनि स्थानीय पत्रकारहरूको आवश्यकता र सन्दर्भलाई पर्याप्त रूपमा समेट्न नसकिएको अनुभव दोहोरिएको भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ । ‘यस्ता कार्यक्रमहरू व्यवहारमै प्रभावकारी र उपयोगी हुनुपर्नेमा औपचारिकतामै सीमित हुने प्रवृत्ति देखिनु दुःखद छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
महासंघले आगामी दिनमा सञ्चार क्षेत्रसँग सम्बन्धित कुनै पनि कार्यक्रम योजना बनाउँदा र कार्यान्वयन गर्दा जिल्ला शाखाहरूसँग अनिवार्य रूपमा प्रभावकारी समन्वय र सहकार्य गर्न माग गरेको छ । साथै प्रदेश सरकारबाट विनियोजित बजेटको पारदर्शिता, प्रभावकारिता र उत्तरदायित्व सुनिश्चित गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।
यस्ता मनपरी र असंवेदनशील कार्यशैली तत्काल सच्याउन आग्रह गर्दै महासंघले सञ्चार क्षेत्रको दिगो विकासका लागि आफ्नो सहभागिता, सम्मान र सहकार्य अपरिहार्य रहेको स्पष्ट पारेको छ ।
संयुक्त विज्ञप्तिमा नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता, धनुषा शाखाका अध्यक्ष पुरन साह, सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुर, रौतहट शाखाका अध्यक्ष सञ्जय कार्की, महोत्तरी शाखाका अध्यक्ष महेशकुमार दाहाल, बारा शाखाका अध्यक्ष रमेश सुवेदी, सप्तरी शाखाका अध्यक्ष श्रवण देव तथा पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालको हस्ताक्षर रहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


