दरबन्दी नबढे शैक्षिक सुधार असम्भव: मन्त्री तिवारी

जनकपुरधाम, ७ बैशाख । मधेश प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी अपर्याप्त रहेको भन्दै संघ सरकारसँग तत्काल नयाँ दरबन्दी सिर्जना गर्न माग गरेकी छन् ।
जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत विद्यालय ज्ञानकुपको ११७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री तिवारीले मधेशको शैक्षिक अवस्था सुधारका लागि शिक्षक अभाव मुख्य बाधक रहेको स्पष्ट पारिन् ।
उनले मधेशका अधिकांश विद्यालयमा विद्यार्थीको चाप अत्यधिक भए पनि त्यसअनुसार शिक्षक व्यवस्थापन हुन नसकेको बताउँदै वर्तमान संरचना व्यवहारिक नभएको टिप्पणी गरिन् ।
‘हाम्रो बुझाइमा ५० विद्यार्थी बराबर १ शिक्षक हुनुपर्छ । तर, मधेशमा औसतमा ११७ विद्यार्थीका लागि १ शिक्षक मात्र उपलब्ध छन्,’ मन्त्री तिवारीले भनिन्, ‘यो अवस्था रहँदासम्म गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सकिँदैन ।’
मन्त्री तिवारीले संघ सरकारले हालै अघि सारेको १०० बुँदे कार्यक्रमलाई कार्यान्वयन गर्दा शिक्षा सुधारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।
उनले शिक्षक अभाव समाधानका लागि या त संघ सरकारले आवश्यक दरबन्दी थप गर्नुपर्ने वा प्रदेश सरकारलाई नै दरबन्दी सिर्जना गर्ने अधिकार हस्तान्तरण गर्नुपर्ने धारणा व्यक्त गरिन् ।
‘प्रदेश सरकारसँग अधिकार भएमा हामी स्थानीय आवश्यकताअनुसार छिटो निर्णय गर्न सक्छौँ,’ उनले भनिन्, ‘नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै शिक्षक अभाव समाधानका लागि ठोस पहल आवश्यक छ ।’
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक संजय झाले ११७ वर्ष पुरानो इतिहास बोकेको विद्यालयले विभिन्न उतारचढाव पार गर्दै अहिले पुनः शैक्षिक केन्द्रका रूपमा स्थापित हुन सफल भएको बताए ।
उनले पछिल्लो समय समुदाय र अभिभावकको सक्रिय सहयोगका कारण विद्यालयमा विद्यार्थी संख्या उल्लेखनीय रूपमा बढेको जानकारी दिए ।
‘केही वर्षअघि विद्यार्थी अभाव झेल्नुपरेको यो विद्यालय अहिले विद्यार्थीले भरिभराउ छ,’ झाले भने, ‘हामी यसलाई नमूना विद्यालयका रूपमा विकास गर्ने दिशामा अगाडि बढिरहेका छौँ ।’
वार्षिकोत्सवको अवसरमा विद्यालयले ११ जना उत्कृष्ट छात्रालाई साइकल वितरण गरेको छ । साथै, कक्षा १२ विज्ञान संकायमा अध्ययनरत ९ जना छात्रालाई जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

शिशु कक्षादेखि कक्षा १२ सम्मका उत्कृष्ट विद्यार्थीहरूलाई समेत पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा शिक्षा क्षेत्रमा देखिएका चुनौती, सुधारका सम्भावना र सामुदायिक सहकार्यको आवश्यकता विषयमा वक्ताहरूले आ–आफ्ना धारणा राखेका थिए ।
सहभागीहरूले मधेशको शिक्षा क्षेत्रमा देखिएको शिक्षक अभाव दीर्घकालीन समस्या बन्न सक्ने भन्दै यसको शीघ्र समाधानतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


