फागुन २१ को निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउने साझा दायित्व : गृहमन्त्री अर्याल

जनकपुरधाम, ३० पुष । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नु सुरक्षा निकायमा आबद्ध सबै निकायको साझा दायित्व भएको बताएका छन् ।
सङ्घीय गृह मन्त्रालय तथा मधेश प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा जनकपुरधाममा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले तोकिएको मिति फागुन २१ गते निर्वाचन सफलतापूर्वक सम्पन्न हुनेमा सरकार विश्वस्त रहेको बताए ।
गृहमन्त्री अर्यालले निष्पक्ष निर्वाचनका लागि सुरक्षा निकायका सबै अङ्गले आ–आफ्नो कार्यक्षेत्रमा उच्च जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिए । ‘निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो, यसमा कुनै पनि किसिमको लापरवाही स्वीकार्य हुँदैन,’ उनले भने, ‘सुरक्षा व्यवस्थापनमा कमजोरी देखिन नदिन सबै निकाय गम्भीर र सतर्क हुनुपर्छ ।’
उनले निर्वाचन सफल बनाउन सुरक्षा निकाय मात्र नभई राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मीहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरे ।
समाजमा द्वन्द्व र अविश्वास फैलाउने गतिविधि लोकतन्त्रका लागि घातक हुने भन्दै गृहमन्त्री अर्यालले सबै पक्षलाई संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गरे ।
प्रचलित कानुनविपरीत गतिविधि गर्ने जो–कोहीलाई कानुनको दायरामा ल्याइने चेतावनी दिँदै उनले सामाजिक सञ्जालको दुरुपयोगप्रति विशेष सतर्कता अपनाउनुपर्ने आवश्यकता औँल्याए ।
गृहमन्त्री अर्यालले जेनजी पुस्ताको चाहना र अपेक्षाअनुसार वर्तमान सरकार गठन भएको उल्लेख गर्दै सुशासन कायम गर्नु र तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनु सरकारको प्रमुख कार्यादेश भएको बताए ।
‘नागरिकको भरोसा जित्न सरकारले निष्पक्ष निर्वाचन र सुशासनलाई प्राथमिकतामा राखेको छ,’ उनले भने ।
सुरक्षा व्यवस्थापनका सन्दर्भमा उनले सीमित साधन र स्रोतका बाबजुद पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकाय निर्वाचनलाई सफल बनाउन सक्रिय रूपमा परिचालित रहेको जानकारी दिए ।
राष्ट्रले सुम्पिएको जिम्मेवारी उच्च मनोबलका साथ पूरा गर्न सुरक्षा निकायका पदाधिकारीलाई निर्देशन दिँदै उनले व्यवसायिकता, निष्पक्षता र समन्वयलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरे ।
गृहमन्त्री अर्यालका अनुसार विगतमा लुटिएका हतियारहरू फिर्ता हुने क्रम जारी रहेको छ र समग्र शान्ति–सुरक्षाको अवस्था सरकारको नियन्त्रणमा रहेको छ । यसले निर्वाचनको वातावरणलाई थप सुरक्षित र विश्वासयोग्य बनाउने उनको भनाइ थियो ।
प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा निर्वाचन सुरक्षा योजना, शान्ति व्यवस्था कायम गर्ने उपाय, सुरक्षा निकायबीचको समन्वय तथा सम्भावित चुनौतीबारे विस्तृत छलफल गरिएको थियो । गोष्ठीले निर्वाचनलाई मर्यादित, सुरक्षित र विश्वसनीय बनाउन सुरक्षा संयन्त्रलाई थप सुदृढ बनाउने निष्कर्ष निकालेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

