जनकपुरधाम, २८ कार्तिक । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् ।

प्रदेश सरकारमा सहभागी प्रमुख दल नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री यादवले सरकारको निरन्तरताका लागि विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरेका छन् ।

बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने र त्यसपछि मतदान प्रक्रिया अघि बढ्नेछ ।

नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्दै आएका एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए ।

त्यसैगरी, सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले पनि कार्तिक २० गते राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

दुई प्रमुख सहयोगी दलले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकार जोगाउन मुख्यमन्त्री यादवले पछिल्लो समय विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल र संवादलाई तीव्रता दिएका छन् ।

विश्वासको मत प्राप्त गर्ने विषयमा मतदान हुनुअघिसम्म पनि सहमतिको प्रयास जारी रहने मुख्यमन्त्री यादवले बताएका छन् ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार टिकाउन कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रदेशसभामा नेपाली कांग्रेसका २२, नेकपा एमालेका २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।

कांग्रेसका आफ्नै २२ सांसद मात्रै रहेकाले मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न थप ३२ सांसदको समर्थन जुटाउनुपर्ने चुनौती छ । यस्तो अवस्थामा जसपा नेपाल, जनमत पार्टीसहित अन्य दलको समर्थन निर्णायक बन्ने देखिएको छ ।