७५ वर्षमा पनि श्रम गर्न छाडिनन् सावित्री, आत्मनिर्भरतामै खोज्दैछिन् जीवनको सम्मान
-ज्योति झा
सप्तरी, २७ कार्तिक । सप्तरीको राजविराजस्थित कारागार छेउको बस्तीलाई स्थानीय बासिन्दा ‘जेलघाट’ भनेर चिन्छन् । यही बस्तीकी ७५ वर्षीया सावित्री मरिक देवी डोम समुदायको जीवन, संघर्ष र परिवर्तनकी साक्षी हुन् ।
जीवनका अनेकौँ उतारचढाव भोगेकी उनी अहिले पनि राजविराजको हटियामा बाँसका सामग्री बेच्दै आफ्नो जीविका चलाइरहेकी छन् । उनको जीवनमा गरिबी, बालविवाह र जातीय विभेदका पीडा छन् । तर, सँगसँगै आत्मनिर्भरता, शिक्षाप्रतिको चेतना र नयाँ पुस्तामा देखिएको परिवर्तनको खुसी पनि छ ।
राजविराजको हटियामा बाँसबाट बनेका कोनिया बिक्री गर्न बसेकी सावित्री ग्राहकको प्रतीक्षामा थिइन् । उनी आफैँ बाँसका सामग्री बनाउँदिनन् । बाँस महँगो हुनुका साथै सामग्री बनाउन दोब्बर–तेब्बर मेहनत लाग्ने भएकाले गाउँबाट तयार सामग्री किनेर बजारमा बिक्री गर्ने गरेको उनी बताउँछिन् ।

सुप र कोनिया किन्न उनी सप्तरीका गोरगम्मा, लोखरम, कठौनालगायतका गाउँ पुग्छिन् । गाउँबाट किनेको मूल्यमा १० रुपैयाँ थपेर बजारमा बेच्ने गर्छिन् । तर, थोरै नाफा राखेर बेच्दा पनि ग्राहक पाउन मुस्किल हुँदै गएको छ ।
सावित्रीको व्यापार पर्वअनुसार चल्छ । बटसाबित्री, जितिया र छठमा बाँसका सामग्रीको माग बढछ । अन्य समयमा उनी आफैँ विवाहमा प्रयोग हुने डाला बुन्ने गर्छिन् । यही सीप र व्यापार उनको जीविकोपार्जनको आधार हो ।
सावित्रीको जीवन सहज रहेन । सानै उमेरमा विवाह भयो । विवाह भएको केही वर्षमै श्रीमानको मृत्यु भयो । त्यसपछि छोराछोरीको पालनपोषण र परिवार चलाउने सम्पूर्ण जिम्मेवारी उनको काँधमा आइपर्यो ।
श्रीमान् गुमाएपछि पनि उनले हार मानिनन् । आफ्नै मेहनत र सीपको भरमा जसोतसो सन्तान हुर्काइन् । आर्थिक कठिनाइका बीच पनि सकेसम्म राम्रो शिक्षा दिने प्रयास गरिन् । अहिले उनका दुवै छोरा लुम्बिनी प्रदेशको प्युठान जिल्लामा काम गर्छन् ।
छोराहरूले कमाएर आफूलाई पैसा पठाउने गरे पनि उनी उनीहरूमाथि निर्भर हुन चाहन्नन् ।
‘छोराहरू कमाउँछन्, मलाई पनि पैसा दिन्छन् । तर, उनीहरूका आफ्नै परिवार र छोराछोरी छन् । उनीहरूको पढाइलेखाइ र घरखर्च पनि छ । सकेसम्म बच्चाहरूलाई बोझ नबन्ने प्रयास गर्छु । जबसम्म सकिन्छ, आफैँ कमाएर खानु राम्रो हो,’ उनी भन्छिन् ।

बुढ्यौलीमा सरकारले दिने सामाजिक सुरक्षा भत्ताले केही राहत दिएको छ । औषधोपचारका लागि त्यसले सहयोग पुगेको उनको अनुभव छ । सावित्रीका अनुसार उनले चार महिनामा १२ हजार रुपैयाँ वृद्धभत्ता पाउँछिन् । अर्थात्, मासिक तीन हजार रुपैयाँका दरले भत्ता पाइरहेकी छन् । वृद्धभत्ताले कम्तीमा औषधि किन्ने खर्च जुटाउन सहज भएको उनी बताउँछिन् ।
सावित्रीले आफ्नो पुस्तामा शिक्षाको अवस्था निकै कमजोर रहेको सम्झिन्छिन् । विशेषगरी डोम समुदायमा छोरालाई समेत पढाउने चलन थिएन भने छोरीलाई विद्यालय पठाउने कल्पना पनि गरिँदैनथ्यो ।
त्यतिबेला छोरीको जीवन घरको काम, बाहिरको श्रम र कम उमेरमै विवाहमा सीमित हुन्थ्यो । तर, अहिले अवस्था बदलिँदै गएको छ ।
सावित्रीकी आफ्नै नातिनी कक्षा १२ मा पढ्दैछिन् । नातिहरू पनि कक्षा ६ र ८ मा अध्ययनरत छन् । उनीहरू प्युठानमै पढिरहेका छन् ।
विद्यालयमा अनुपस्थित हुँदा शिक्षकले फोन गरेर जानकारी गराउने गरेका छन् । एकपटक बालबालिका विद्यालय नगएको विषयमा उनका छोरालाई प्रहरीले नियन्त्रणमा लिएर लगेको घटना पनि उनी सुनाउँछिन् ।
‘हाम्रो समयमा छोरालाई पढाउने चलन थिएन, छोरीलाई पढाउने त कल्पनै थिएन । अहिले नातिनी १२ कक्षामा पढ्दैछिन्, नातिहरू पनि पढिरहेका छन् । यो ठूलो परिवर्तन हो,’ उनी भन्छिन् ।
उनका अनुसार अहिले छोराछोरीलाई शिक्षामा समान अवसर दिनुपर्छ भन्ने सोच विकास हुँदै गएको छ । तर, परिवर्तनसँगै नयाँ समस्या पनि थपिएका छन् ।

सावित्रीका अनुसार पहिले डोम समुदायमा दाइजो प्रथा अहिलेको जस्तो थिएन । तर, पछिल्लो समय अन्य समुदायको प्रभावसँगै उनीहरूको समुदायमा पनि दाइजो माग्ने चलन बढेको छ ।
‘पहिला हाम्रो जातमा दाइजो थिएन । अहिले दाइजोबिना विवाह गर्नै गाह्रो भएको छ । अपाचे मोटरसाइकल र विवाह खर्च दिनैपर्ने अवस्था आएको छ,’ उनी भन्छिन् ।
आर्थिक रूपमा कमजोर परिवारका लागि विवाहमा मोटरसाइकल र अन्य खर्च जुटाउनु ठूलो चुनौती बनेको उनको अनुभव छ । समाजमा शिक्षा र चेतना बढ्दै गए पनि दाइजोको बढ्दो मागले गरिब परिवारलाई थप आर्थिक बोझमा पारेको छ ।
७५ वर्षको जीवनमा सावित्रीले सबैभन्दा बढी पीडा जातीय विभेद र छुवाछुतबाट भोगेकी छन् । अहिले पहिलाभन्दा छुवाछुत केही कम भए पनि अन्त्य नभएको उनको अनुभव छ ।
‘हामीले बनाएको डाला, सुप र कोनिया सबैलाई चाहिन्छ । तर, हाम्रो घरमा आउन वा हामीलाई आफ्नो घरभित्र पस्न दिन चाहँदैनन्,’ उनी भन्छिन् ।
उनको भनाइमा समाजको विरोधाभास स्पष्ट देखिन्छ । डोम समुदायले बनाएका बाँसका सामग्री सबै समुदायका मानिसलाई आवश्यक पर्छन् ।
छठ , विवाह र अन्य धार्मिक तथा सांस्कृतिक कार्यमा ती सामग्री प्रयोग गरिन्छन् । तर, सामग्री बनाउने व्यक्तिलाई भने समान व्यवहार गर्न अझै समाज तयार छैन ।
सामान स्वीकार गर्ने तर सामान बनाउने समुदायलाई सम्मान नगर्ने प्रवृत्ति अझै कायम रहेको उनको गुनासो छ ।
सावित्री भन्छिन्, ‘अब हाम्रो समुदायभित्र पनि सोच र रहनसहनमा ठूलो परिवर्तन आएको छ । पहिले विवाह, व्रतबन्ध तथा भोजभतेरमा बाँकी रहेको खाना ल्याएर खाने चलन थियो । कतिपय अवस्थामा मरेका व्यक्तिका कपडासमेत ल्याएर लगाउने गरिन्थ्यो । तर, अहिले यस्तो चलन क्रमशः हट्दै गएको छ ।’
‘अब हामी कसैको जुठो खाँदैनौँ, भोजमा बचेको खाना पनि ल्याउँदैनौँ । मरेको मान्छेको कपडा पनि ल्याउँदैनौँ, लगाउँदैनौँ । अब आफ्नै मेहनतले कमाएर खाने गर्छौं,’ उनी भन्छिन् ।
उनका अनुसार अहिले समुदायका मानिसमा आत्मसम्मानको भावना बढेको छ । ‘जसले इज्जत दिन्छ, त्यहाँ जान्छौँ । जसले हेला गर्छ, त्यहाँ हेर्दा पनि हेर्दैनौँ,’ सावित्री भन्छिन् ।
पहिले जातअनुसार पेसा निर्धारण हुने गरेकोमा अहिले मानिसहरू आफ्नो रुचि, सीप र क्षमताअनुसार विभिन्न काममा लाग्न थालेका छन् ।
बाँसका सामग्री बनाउने परम्परागत पेसा कायम रहे पनि नयाँ पुस्ता शिक्षासँगै अन्य क्षेत्रमा पनि अघि बढ्न थालेको छ ।
परिवर्तनसँगै सावित्रीको परम्परागत पेसामा चुनौती पनि थपिएको छ । बाँसका सामग्री बेच्ने व्यापारी बढेका छन् । तर, बजारमा माग र उचित मूल्य पाउन कठिन हुँदै गएको छ ।
‘हामी ७० रुपैयाँमा कोनिया किन्छौँ र बजारमा ८० रुपैयाँमा बेच्न खोज्छौँ । तर, ८० रुपैयाँमा पनि मान्छेले किन्न मान्दैनन् । चारैतिर कोनिया र सुप बेच्नेहरू छन् । सबैले मूल्य घटबढ गर्छन्,’ उनी सुनाउँछिन् ।
त्यसमाथि उपभोक्ताको रुचि पनि फेरिएको छ । छठजस्ता पर्वमा बाँसका सामग्रीको प्रयोगभन्दा आल्मुनियम र प्लास्टिकका सामग्रीप्रति आकर्षण बढ्न थालेको छ । यसले बाँसका सामग्री बनाउने र बिक्री गर्ने परिवारको आम्दानीमा असर पारेको छ ।
पुस्तौँदेखि चल्दै आएको सीप र पेसा अहिले बजार प्रतिस्पर्धा तथा आधुनिक सामग्रीको बढ्दो प्रयोगका कारण संकटमा पर्दै गएको सावित्रीको अनुभव छ ।
जेलघाटकी सावित्रीको जीवन एक वृद्ध महिलाको संघर्षको कथा मात्र नभई डोम समुदायले भोगेको सामाजिक विभेद र त्यसविरुद्ध विकसित हुँदै गएको आत्मसम्मानको कथा पनि हो ।

उनले आफ्नै जीवनमा बालविवाह, आर्थिक अभाव र छुवाछुत भोगिन् । तर, आज आफ्ना नातिनातिना विद्यालय गएको देख्दा उनी खुसी छिन् । समुदायका मानिसहरू आफ्नै मेहनतमा निर्भर हुन थालेको देख्दा गर्व गर्छिन् ।
यद्यपि छुवाछुतको अन्त्य हुन सकेको छैन, दाइजोको बोझ थपिएको छ र परम्परागत पेसा बजारको संकटमा छ ।
राजविराजको हटियामा ग्राहकको प्रतीक्षामा बसेकी सावित्रीका लागि बाँसका कोनिया व्यापारका सामान नभई जीवनभरको श्रम र आत्मनिर्भरताका प्रतीक हुन् ।
उनी अझै काम गर्न चाहन्छिन्, आफ्नै कमाइमा बाँच्न चाहन्छिन् र सम्मानपूर्वक व्यवहार पाउन चाहन्छिन् ।
सावित्रीको जीवन अहिलेका युवापुस्ताका लागि पनि एउटा प्रेरणादायी पाठ हो । ७५ वर्षको उमेरमा पनि आफ्नै श्रम र सीपमा विश्वास गर्दै आत्मनिर्भर भएर बाँच्ने उनको चाहना, मेहनत गर्ने अठोट र कसैको भर नपरी आफ्नो जीवन चलाउने आत्मविश्वास साँच्चिकै अनुकरणीय छ ।
जीवनका अनेकौँ दुःख, अभाव र विभेद भोगेकी सावित्रीले आफ्नै आँखाअगाडि समाजमा आएको परिवर्तन देख्न पाउनु पनि आफैँमा ठूलो उपलब्धि हो । उनको जीवनले उमेर नभई इच्छाशक्ति, परिश्रम र आत्मसम्मान नै मानिसको वास्तविक शक्ति हो भन्ने सन्देश दिन्छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




