अमेरिकामा पनि मिथिलानीले सुरु गरे गोवर्धन पूजा, क्यालिफोर्नियामा पहिलोपटक सामूहिक आयोजन
क्यालिफोर्निया, २७ कार्तिक । मिथिलाको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थालाई सात समुद्रपार पनि जीवन्त राख्ने उद्देश्यले अमेरिकामा रहेका मिथिलानी महिलाहरूले गोवर्धन पूजा सुरु गरेका छन् ।
अमेरिकाको क्यालिफोर्निया राज्यस्थित वूडल्यान्डको पायोनियर पार्कमा यस वर्षदेखि मिथिलानी महिलाहरूले सामूहिक रूपमा गोवर्धन पूजा आयोजना गरेका हुन् ।
विदेशमा रहेर पनि आफ्नो मातृभूमिको संस्कृति र परम्परालाई निरन्तरता दिने प्रयासस्वरूप महिलाहरूले पूजाको शुरुवात गरेका हुन् ।
पूजाको सम्पूर्ण तयारी जनकपुरधामकी सरिता साहको अगुवाइमा गरिएको थियो ।

हाल क्यालिफोर्नियाको साक्रामेन्टोमा बस्दै आएकी साहले विदेशमा रहे पनि मिथिलाको धार्मिक तथा सांस्कृतिक पहिचानलाई जोगाइराख्न आफूहरूले यो पहल गरेको बताइन् ।
उनका अनुसार गोवर्धन पूजा मिथिलाको धार्मिक तथा सांस्कृतिक जीवनसँग जोडिएको महत्वपूर्ण पर्व हो । तर, विदेशमा बसोबास गर्दा नयाँ पुस्ता आफ्नो मौलिक संस्कृति र परम्पराबाट टाढिँदै जान सक्ने भएकाले यस्ता सामूहिक आयोजनाले संस्कृतिको पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्नेछ ।
साहले भनिन्, ‘हामी आफ्नो जन्मभूमिबाट हजारौँ किलोमिटर टाढा भए पनि आफ्नो भाषा, संस्कृति, परम्परा र चाडपर्वलाई भुल्न चाहँदैनौँ । मिथिलाको पहिचान र संस्कारलाई विदेशमा पनि जीवित राख्नुपर्छ भन्ने सोचले यस वर्षदेखि गोवर्धन पूजा सुरु गरेका हौँ ।’
उनले यो शुरुवातलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने र अमेरिकामा रहेका अन्य मिथिलानी महिलालाई समेत यस्ता सांस्कृतिक गतिविधिमा जोड्ने आफ्नो चाहना रहेको बताइन् ।
विदेशमा रहेर पनि आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षणमा जुटेका मिथिलानी महिलाहरूको यो प्रयासले मिथिलाको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




