छठ मनाउन लामिछाने दम्पती आज जनकपुरधाम आउँदै
जनकपुरधाम, २८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यस वर्षको छठ पर्व मनाउन जनकपुरधाम आउने भएका छन् ।
उनी आफ्नी धर्मपत्नी निकिता पौडेलसहित जनकपुरधामस्थित ऐतिहासिक गंगासागरमा छठ पर्वको पूजा तथा धार्मिक अनुष्ठानमा सहभागी हुने कार्यक्रम तय भएको हो ।
रास्वपा मधेश प्रदेश कार्यालयले सार्वजनिक गरेको कार्यक्रम तालिकाअनुसार लामिछाने शनिबार दिउँसो १२ः१५ बजे जनकपुर विमानस्थल पुग्नेछन् । विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताले उनको स्वागत गर्ने कार्यक्रम छ ।
त्यसपछि दिउँसो १ बजे जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा शुभकामना आदानप्रदान तथा सभापति लामिछानेको सम्बोधन हुनेछ ।
दिउँसो २ बजेदेखि ४ बजेसम्म सोही स्थानमा पार्टीका विभिन्न तहका पदाधिकारीसँग सामूहिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम राखिएको छ ।
शनिबार साँझ ५ बजे उनी छठ पर्वको खरना तथा अन्य धार्मिक विधिको तयारीका लागि निर्धारित निवासस्थानतर्फ प्रस्थान गर्नेछन् ।
त्यस्तै, आइतबार बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म लामिछानेले मधेशका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलको दर्शन तथा अवलोकन गर्ने कार्यक्रम छ ।
यसक्रममा जानकी मन्दिर, मुखियापट्टीस्थित लक्ष्मीनारायण मन्दिर, मटिहानीस्थित लक्ष्मीनारायण मठ, जलेश्वरनाथ मन्दिर, मुजेलियास्थित रामजानकी मरवा र धनुषाधाम मन्दिर पुग्ने तालिका छ ।
आइतबार दिउँसो ३ बजे जनकपुरधामस्थित गंगासागरमा आयोजना हुने छठ पर्वको पूजाअर्चना तथा धार्मिक अनुष्ठानमा उनी सहभागी हुनेछन् ।
सोमबार बिहान ५ बजे उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्ने छठको मुख्य विधिमा सहभागी भएपछि दिउँसो जनकपुर विमानस्थलबाट प्रस्थान गर्ने कार्यक्रम रहेको रास्वपा मधेश प्रदेश कार्यालयले जनाएको छ ।
पार्टीले सभापति लामिछानेको भ्रमणलाई राष्ट्रिय एकता, सद्भाव र सामाजिक सहिष्णुताको सन्देश प्रवाह गर्ने उद्देश्यसँग जोडेको छ ।
साथै, मधेश प्रदेशअन्तर्गतका पार्टीका सबै तहका पदाधिकारी, सांसद, सदस्य तथा शुभेच्छुकलाई आवश्यक समन्वय र सहभागिताका लागि आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




