जनकपुरधाम, १९ कार्तिक । नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाको रक्त सञ्चार केन्द्रमा हाल ५६ युनिट रगत मौज्दात रहेको छ ।

शाखाले बिहीबार सार्वजनिक गरेको रक्त भण्डार विवरणअनुसार विभिन्न रक्त समूहका गरी उक्त परिमाणमा रगत मौज्दात रहेको हो ।

रक्त सञ्चार केन्द्रमा ए पोजेटिभ १७ युनिट, बी पोजेटिभ २१ युनिट, एबी पोजेटिभ ११ युनिट, ओ पोजेटिभ ४ युनिट र ए नेगेटिभ ३ युनिट रगत मौज्दात रहेको छ ।

त्यस्तै, ओ नेगेटिभ, बी नेगेटिभ र एबी नेगेटिभ समूहको रगत मौज्दात नरहेको विवरणमा उल्लेख छ ।

नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाका सभापति पंकजकुमार महतोले रगतको मागअनुसार नियमित आपूर्ति कायम राख्न रक्तदानलाई निरन्तरता दिनुपर्ने बताए ।

उनले दुर्लभ रक्त समूहका बिरामीलाई आवश्यक परेको समयमा रगत उपलब्ध गराउन चुनौती हुने भएकाले सबै रक्त समूहका व्यक्तिलाई नियमित रक्तदान गर्न आग्रह गरे ।

सभापति महतोका अनुसार दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न रोगका बिरामीलाई जुनसुकै बेला रगत आवश्यक पर्न सक्ने भएकाले रक्तदानलाई सामाजिक उत्तरदायित्वका रूपमा लिन आवश्यक छ ।

उनले स्वस्थ व्यक्तिले नियमित रक्तदान गरेर मानवीय सेवामा योगदान पुर्‍याउनुपर्नेमा जोड दिए ।

रगतको कृत्रिम उत्पादन सम्भव नभएकाले यसको अभाव पूर्ति गर्न स्वयंसेवी रक्तदाताकै योगदान महत्वपूर्ण हुने रेडक्रसले जनाएको छ ।

रक्तदान गर्न इच्छुक व्यक्तिले जनकपुरधामस्थित नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाको रक्त सञ्चार केन्द्रमा सम्पर्क गर्न सक्नेछन् ।