जनकपुरधाम, २७ असोज । मधेश प्रदेशमा २१ दशमलव ३ प्रतिशत बालबालिका बहुआयामिक वञ्चितीकरणको अवस्थामा रहेको पाइएको छ ।

शिक्षा, स्वास्थ्य, पोषण तथा आधारभूत सुविधामा पहुँचको अवस्थालाई विश्लेषण गर्दा प्रदेशका बालबालिकाको जीवनस्तर कमजोर देखिएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदनअनुसार मधेशमा पाँच वर्षमुनिका २६ दशमलव २ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या छ ।

त्यस्तै, ६ देखि २३ महिनासम्मका ६० दशमलव ७ प्रतिशत शिशु तथा बालबालिकाले पर्याप्त र विविध प्रकारको आहार पाउन सकेका छैनन् ।

बालबालिकाको अवस्था सुधार गर्न शिक्षा, स्वास्थ्य, पोषण र आधारभूत सेवामा पहुँच विस्तार गर्ने प्रभावकारी नीति तथा कार्यक्रम आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।

मधेश प्रदेशको नीति तथा योजना आयोगका सदस्य नवल यादवले सबै सम्भावनाले भरिपूर्ण प्रदेशमा बालबालिकाको अवस्था दयनीय रहनु चिन्ताको विषय भएको बताए ।

उनले बालबालिकाको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, पोषण तथा आधारभूत सेवासम्बन्धी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए ।

उनका अनुसार बालबालिकाको जीवनस्तर सुधार गर्न उनीहरूको आवश्यकता र समस्यालाई केन्द्रमा राखेर नीति निर्माण तथा कार्यक्रम कार्यान्वयन गर्न आवश्यक छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेले बालबालिकामा देखिएको बहुआयामिक वञ्चितीकरण न्यूनीकरण गर्न शिक्षा, स्वास्थ्य र खानेपानीमा पहुँच विस्तारसँगै डिजिटल साक्षरतालाई समेत प्राथमिकता दिनुपर्ने बताए ।

प्रतिवेदनले विपन्न परिवारका बालबालिका तथा कम शैक्षिक स्तर भएका आमाका सन्तान बहुआयामिक वञ्चितीकरणको बढी जोखिममा रहने गरेको देखाएको छ ।

आर्थिक अवस्था, शैक्षिक पहुँच र आधारभूत सेवाको उपलब्धताले बालबालिकाको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ ।

बालबालिकाको अवस्था सुधार गर्न तथ्यांकमा आधारित योजना निर्माण, जोखिममा रहेका परिवारको पहिचान तथा लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

मधेशमा बालबालिकाको पोषण, स्वास्थ्य, शिक्षा र आधारभूत सुविधामा पहुँच सुनिश्चित गर्न सरकारी निकाय, स्थानीय तह तथा सरोकारवाला संस्थाबीच प्रभावकारी समन्वय आवश्यक देखिएको छ ।