केवाईसी अपडेट गर्ने बहानामा ५० लाख ठगी, तीन जना पक्राउ
रौतहट, २७ असोज । बैंक तथा ई–सेवाको कर्मचारी भएको भन्दै ग्राहकलाई केवाईसी अपडेट गर्ने बहानामा करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा रौतहट प्रहरीले भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गौरले पत्रकार सम्मेलन गरी पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहारस्थित सीतामढीका २४ वर्षीय मोहम्मद साहिल, २२ वर्षीया सलोनी कुमारी सोनी र रौतहटको गौर नगरपालिका–५ का १८ वर्षीय नितेश कुशवाहा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार असोज २३ गते गौर नगरपालिका–३ को पोखरिया टोल र वडा नम्बर–५ को कोइरी टोलमा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार घटनासम्बन्धी हालसम्म २२ वटा उजुरी परेका छन् । प्रारम्भिक अनुसन्धानबाट ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी भएको खुलेको एसपी रिजालले जानकारी दिएका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार आरोपितहरूले बैंक वा ई–सेवाको कर्मचारी भएको परिचय दिँदै फोन तथा ह्वाट्सएपमार्फत सर्वसाधारणलाई सम्पर्क गर्ने गरेका थिए । त्यसक्रममा उनीहरूले केवाईसी अपडेट गर्नुपर्ने भन्दै सेवाग्राहीलाई विश्वासमा लिने गरेका थिए ।
त्यसपछि भिडियो कलमार्फत मोबाइलको स्क्रिन शेयर गर्न लगाउने र गुगल फारम भर्न लगाएर बैंकिङ विवरण प्राप्त गर्ने गरेको खुलेको छ । प्राप्त विवरणको दुरुपयोग गरी पीडितको बैंक खाता तथा डिजिटल वालेटबाट रकम अन्यत्र स्थानान्तरण गर्ने गरेको प्रहरीको भनाइ छ ।
ठगीबाट प्राप्त रकम अमेरिकी डलरमा रूपान्तरण गरी बाइनान्समार्फत स्थानान्तरण गरिएको तथा क्रिप्टोकरेन्सीमा लगानी गरिएको हुन सक्ने प्रहरीको आशंका छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूको साथ तथा सम्बन्धित स्थानबाट प्रहरीले १ लाख ६२ हजार २१० नेपाली रुपैयाँ र ३ हजार २३६ भारतीय रुपैयाँ बरामद गरेको छ ।
त्यस्तै, सात थान मोबाइल, ११ थान सिमकार्ड, ३० थान बैंक भौचर, तीन थान एटीएम कार्ड, तीन थान चेकबुक, एक थान पेनड्राइभ, दुई थान मेमोरी कार्ड तथा ठगीसम्बन्धी विवरण उल्लेख गरिएका डायरी र विभिन्न कागजातसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । घटनाका मुख्य योजनाकार तथा अन्य सम्भावित संलग्न व्यक्तिहरूको खोजीसमेत जारी रहेको प्रहरीले जनाएको छ ।
डिजिटल माध्यमबाट हुने ठगीबाट जोगिन प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।
बैंक वा डिजिटल वालेटको कर्मचारी भन्दै अपरिचित व्यक्तिले फोन वा भिडियो कल गरेमा मोबाइलको स्क्रिन शेयर नगर्न तथा ओटीपी, पिन, पासवर्ड र बैंकिङ विवरण उपलब्ध नगराउन प्रहरीले अनुरोध गरेको छ ।
केवाईसी अपडेट गर्ने नाममा व्यक्तिगत तथा वित्तीय विवरण माग्ने व्यक्तिप्रति सतर्क रहन र शंकास्पद गतिविधि देखिएमा सम्बन्धित बैंक वा आधिकारिक सेवा प्रदायकसँग सम्पर्क गरी यकिन गर्न प्रहरीले सुझाव दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर



