जनकपुरधाम, २७ असोज । ब्लड फोर निड धनुषा शाखाले बडादशैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाका सभापति पंकजकुमार महतोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा अतिथिका रूपमा सहभागी व्यक्तिहरूलाई स्वागत तथा सम्मानसमेत गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा सभापति महतोले चाडपर्वले समाजमा आपसी प्रेम, सद्भाव, एकता र भाइचाराको भावना सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले चाडपर्वको खुसीलाई सामाजिक सेवासँग जोड्दै असहाय, विपन्न तथा आवश्यकतामा परेका व्यक्तिहरूलाई सहयोग गर्न सबैलाई प्रेरित हुनुपर्नेमा जोड दिए ।

महतोले रक्तदानलाई मानवीय सेवाको महत्त्वपूर्ण माध्यमका रूपमा उल्लेख गर्दै रगतको अभावमा कसैले पनि ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन रक्तदानसम्बन्धी जनचेतना र अभियानलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे ।

उनले रक्तदान तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय संघसंस्थाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्न सबै पक्षलाई आग्रह गरे ।

ब्लड फोर निड धनुषा शाखाद्वारा आयोजित कार्यक्रमले चाडपर्वको शुभकामना आदानप्रदानसँगै सामाजिक सद्भाव र मानवीय सेवाप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरिएको छ ।