महोत्तरी, २७ असोज । बडादशैँ तथा दुर्गा पूजा शान्तिपूर्ण र सद्भावपूर्ण वातावरणमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय महोत्तरीले सुरक्षा व्यवस्था कडा बनाउने निर्णय गरेको छ ।

धार्मिक, जातीय तथा साम्प्रदायिक सद्भाव कायम राख्न सामाजिक सञ्जालमा निगरानी बढाउने, राति १० बजेसम्म मात्रै ध्वनि प्रणाली सञ्चालन गर्न दिने तथा दुर्गा पूजाको दशमीका दिन साँझदेखि मूर्ति विसर्जन सम्पन्न नभएसम्म पूजा स्थल र विसर्जन क्षेत्र वरपर मदिरा तथा लागुपदार्थको बिक्रीवितरण र सेवनमा रोक लगाउने निर्णय गरिएको हो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको समन्वयमा सरोकारवालासँग गरिएको बैठकले धार्मिक सद्भाव कायम राख्न विभिन्न निर्णय गरेको छ ।

जिल्लामा ४६ स्थानमा दुर्गा पूजा आयोजना हुने भएकाले धार्मिक कार्यक्रम, मेला, जुलुस तथा मूर्ति विसर्जनलाई व्यवस्थित र सुरक्षित बनाउन प्रशासनले विशेष सतर्कता अपनाउने भएको छ ।

प्रमुख जिल्ला अधिकारी यादवले महोत्तरी बहुसांस्कृतिक, बहुधार्मिक तथा आपसी भाइचाराको ऐतिहासिक संगमस्थल रहेकाले यहाँको सामाजिक सद्भाव र सहिष्णुता जोगाउनु सबैको साझा दायित्व भएको बताए ।

उनले चाडपर्वका नाममा धार्मिक तथा साम्प्रदायिक तनाव उत्पन्न हुन नदिन सबै पक्षलाई संयमित, जिम्मेवार र संवेदनशील बन्न आग्रह गरेका छन् ।

उनले कुनै व्यक्तिले कुनै धर्म, सम्प्रदाय वा समुदायको भावनामा चोट पुग्ने अभिव्यक्ति दिएमा वा कानुनविपरीत गतिविधि गरेमा त्यसलाई साम्प्रदायिक रूप दिनुभन्दा सम्बन्धित व्यक्तिको व्यक्तिगत कसुरका रूपमा लिएर कानुनी प्रक्रियामा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

बैठकले फेसबुक, टिकटक, एक्स र युट्युबलगायत सामाजिक सञ्जालमार्फत धार्मिक तथा साम्प्रदायिक द्वेष फैलाउने, भ्रामक सामग्री पोस्ट वा सेयर गर्ने र उत्तेजक टिप्पणी गर्ने गतिविधिमाथि निगरानी बढाउने निर्णय गरेको छ ।

यस्ता गतिविधि गर्ने व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीको साइबर सेल तथा राष्ट्रिय अनुसन्धानमार्फत चौबिसै घण्टा निगरानी राख्ने र दोषीमाथि प्रचलित कानुनअनुसार कारबाही गर्ने निर्णय गरिएको छ ।

प्रशासनले धार्मिक सद्भावमा खलल पुग्ने सामग्री प्रकाशन तथा प्रसारण नगर्न र सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना तथा अफवाहको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

धार्मिक उत्सव, मेला, चाडपर्व, जुलुस तथा शोभायात्रामा चर्को आवाजमा डिजे बजाउने कार्यलाई निरुत्साहित गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सामान्य ध्वनि प्रणाली प्रयोग गर्नुपरे स्थानीय प्रशासन वा सम्बन्धित पालिकाबाट पूर्वस्वीकृति लिनुपर्ने र राति १० बजेसम्म मात्रै सञ्चालन गर्न पाइने व्यवस्था कडाइका साथ लागू गरिने जनाइएको छ ।

त्यस्तै, मानव स्वास्थ्य र सुरक्षामा जोखिम निम्त्याउने पटाका, भुइँचम्पालगायत विस्फोटक सामग्रीको बिक्री, ओसारपसार तथा प्रयोगमा रोक लगाउने निर्णय गरिएको छ ।

धार्मिक तथा सांस्कृतिक जुलुस, र्याली, शोभायात्रा र मेला आयोजना गर्दा आयोजकले स्थानीय प्रशासनबाट पूर्वअनुमति लिनुपर्ने, रुट तथा समयतालिका स्पष्ट खुलाउनुपर्ने र कार्यक्रमलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने जिम्मेवारी लिनुपर्ने निर्णयसमेत गरिएको छ ।

गाउँ तथा टोलमा देखिन सक्ने सामान्य विवाद र मनमुटावलाई स्थानीय स्तरमै समाधान गर्न वडा अध्यक्षको संयोजकत्वमा स्थानीय धर्मगुरु, पण्डित, मौलवी तथा सुरक्षा निकायका प्रतिनिधि सम्मिलित वडा स्तरीय शान्ति सद्भाव समन्वय समितिलाई सक्रिय बनाइने भएको छ ।

जिल्लामा सम्भावित तनावको सूचना प्राप्त हुनासाथ परिचालन हुने गरी द्रुत प्रतिक्रिया टोलीलाई चौबिसै घण्टा तयारी अवस्थामा राख्ने निर्णय पनि गरिएको छ ।

सबै धर्मका अगुवा तथा धर्मगुरुलाई शान्ति, सहिष्णुता र भाइचाराको सन्देश प्रवाह गर्न आग्रह गर्दै पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यममार्फत सद्भावमूलक सूचना व्यापक रूपमा सम्प्रेषण गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

दुर्गा पूजाका क्रममा हुन सक्ने झैझगडा, विवाद तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न दशमीको दिन साँझ ६ बजेदेखि मूर्ति विसर्जन सम्पन्न नभएसम्म पूजा स्थल, मेला क्षेत्र तथा विसर्जन मार्ग आसपास मदिरा र लागुपदार्थको बिक्रीवितरण, ओसारपसार तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरिएको छ ।

मूर्ति विसर्जनका क्रममा हुने भीडभाड, सम्भावित दुर्घटना तथा विवादलाई रोक्न सम्बन्धित पूजा व्यवस्थापन समिति र आयोजकले मुख्य जिम्मेवारी लिनुपर्नेछ ।
आयोजक समितिले विसर्जनको निर्धारित रुट तथा समयतालिका पालना गर्दै सुरक्षा निकायसँग निरन्तर समन्वय गर्नुपर्ने निर्णयमा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी यादवले चाडपर्वको वास्तविक खुसी शान्ति, सुरक्षा र आपसी सद्भावमा निहित हुने भएकाले धार्मिक आस्थाको सम्मान गर्दै एकअर्काको भावना बुझ्न सबैलाई आग्रह गरेका छन् ।

प्रशासन, सुरक्षा निकाय, धार्मिक अगुवा, आयोजक समिति र आम नागरिकबीचको सहकार्यबाट मात्रै चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन सकिने उनको भनाइ छ ।

महोत्तरी प्रशासनले जिल्लावासीलाई बडादशैँको शुभकामना व्यक्त गर्दै धार्मिक सहिष्णुता कायम राख्न, कानुनको पालना गर्न र कुनै पनि अप्रिय घटना हुन नदिन सहयोग गर्न अपिल गरेको छ ।