सिरहा, २७ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ कल्याणपुरबाट प्रहरीले ९० किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ४३ वर्षीय जगदिश यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गाँजाको बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा सोमबार राति करिब ११ बजे इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी महेशवारीबाट संयुक्त प्रहरी टोली खटिएको थियो ।

प्रहरी टोलीले कल्याणपुरस्थित यादवको घरमा खानतलासी गर्दा सेतो बोराभित्र प्लास्टिकमा प्याक गरेर राखिएको अवस्थामा ९० किलो गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार बरामद गाँजासहित यादवलाई नियन्त्रणमा लिइएको छ ।

पक्राउ परेका यादवलाई बरामद गाँजासहित थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।