भाटभटेनी जनकपुरधाममा म्याद गुज्रिएको चिप्स बिक्री
जनकपुरधाम, १८ असोज । जनकपुरधामस्थित भाटभटेनी सुपरमार्केटमा म्याद गुज्रिएको खाद्यवस्तु बिक्री गरिएको भन्दै उपभोक्ता नेहा कर्णले गुनासो गरेकी छन् ।
कर्णका अनुसार उनले भाटभटेनी सुपरमार्केटबाट खरिद गरेको आलु चिप्सको म्याद गुज्रिएको सात दिन भइसकेको पाइएको हो ।
खाद्यवस्तुको म्याद समाप्त भएको अवस्थामा समेत बिक्रीका लागि राखिएको भन्दै उनले सुपरमार्केटको खाद्यवस्तु व्यवस्थापन तथा उपभोक्ता सुरक्षाप्रति प्रश्न उठाएकी छन् ।
कर्णले यस्तो घटना पहिलोपटक नभएको दाबीसमेत गरेकी छन् ।
दैनिक ठूलो संख्यामा उपभोक्ता, खाद्यवस्तुको म्याद तथा लेबलसम्बन्धी जानकारीमा कम ध्यान दिने सर्वसाधारणले समेत सुपरमार्केटबाट सामान खरिद गर्ने भएकाले म्याद गुज्रिएका वस्तुको बिक्रीले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने उनको भनाइ छ ।
आफूले सुपरमार्केटको सम्पर्क नम्बर ०४१–५९१०१२ मा फोन गरी खरिद गरेको वस्तुको रकम फिर्ता गर्न आग्रह गर्दा सम्बन्धित कर्मचारीले चिप्स फिर्ता ल्याउन भनेको कर्णले बताएकी छन् ।
आफूले सामान फिर्ता गर्न पुनः सुपरमार्केटसम्म पुग्दा लाग्ने पेट्रोल खर्चबारे कुरा उठाउँदा भने कर्मचारीले ‘त्यो तपाईंको समस्या हो, मेरो होइन’ भन्ने आशयको जवाफ दिएको उनको गुनासो छ ।
उपभोक्ताले खरिद गरेको वस्तु नै म्याद गुज्रिएको पाइएपछि रकम फिर्ता लिनका लागि पुनः उपभोक्तालाई नै खर्च र झन्झट बेहोर्न लगाइनु तथा गुनासो सम्बोधन गर्ने क्रममा असम्मानजनक व्यवहार गरिनु गैरजिम्मेवार र अव्यावसायिक भएको कर्णको आरोप छ ।
कर्णले सम्बन्धित निकायलाई बजार अनुगमनलाई प्रभावकारी बनाउन तथा भाटभटेनीलगायत ठूला व्यापारिक प्रतिष्ठानमा म्याद गुज्रिएका खाद्यवस्तुको बिक्री वितरण रोक्न नियमित अनुगमन गर्न आग्रह गरेकी छन् ।
उनले आफ्नो गुनासो सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधाम उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय धनुषा लगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन् ।
म्याद गुज्रिएका खाद्यवस्तुको बिक्री उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सम्बन्धित निकायले गुनासोमाथि आवश्यक छानबिन गरी दोषी देखिएमा कानुनबमोजिम कारबाही गर्नुपर्ने मागसमेत उनले गरेकी छन् ।


