जनकपुरधाम, १८ असोज । जनकपुरधामको मुख्य बजार क्षेत्रमा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न एकतर्फी यातायात सञ्चालनसँगै एक साइड पार्किङ व्यवस्था लागू गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा जिरोमाइलका अनुसार रामानन्द चोकदेखि जनक चोकसम्म एकतर्फी यातायात सञ्चालन गरिएको हो । त्यस्तै, पिडारी चोकदेखि मिल्सेरिया चोकसम्म एक साइड पार्किङको व्यवस्था गरिएको छ ।

मुख्य बजार क्षेत्रमा अव्यवस्थित पार्किङका कारण हुने सवारी जाम तथा आवागमनमा देखिएको समस्या न्यूनीकरण गर्ने उद्देश्यले उक्त व्यवस्था लागू गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार सवारी चालक तथा व्यवसायीले सडकमा जथाभावी सवारी पार्किङ नगरी तोकिएको स्थानमै पार्किङ गर्नुपर्नेछ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले एकतर्फी यातायात र पार्किङ व्यवस्थालाई प्रभावकारी बनाउन चालक, व्यवसायी तथा सर्वसाधारणको सहयोग आवश्यक रहेको बताए ।

उनका अनुसार सडकमा जथाभावी पार्किङ गर्दा सवारी आवागमन प्रभावित हुनुका साथै पैदलयात्रीलाई समेत समस्या हुने गरेको छ । त्यसैले ट्राफिक नियमको पालना गर्दै तोकिएको स्थानमा मात्रै पार्किङ गर्ने र एकतर्फी सडकको नियम अनिवार्य रूपमा पालना गर्न उनले आग्रह गरे ।

प्रहरी निरीक्षक दाहालले भने, ‘व्यवस्थित यातायातका लागि ट्राफिक प्रहरीले मात्रै प्रयास गरेर सम्भव हुँदैन । चालक, व्यवसायी र सर्वसाधारण सबैले नियमको पालना र सहयोग गरे मात्रै जनकपुरधामको यातायात व्यवस्थापन प्रभावकारी बन्न सक्छ ।’

ट्राफिक प्रहरीले सडकको एकतर्फी नियम उल्लङ्घन नगर्न, सडक तथा फुटपाथ अवरुद्ध हुने गरी सवारी पार्किङ नगर्न र ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सबैमा आग्रह गरेको छ ।

जनकपुरधामको मुख्य बजार क्षेत्रमा सवारीको चाप बढ्दै जाँदा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा लागू गरिएको नयाँ व्यवस्थाले सवारी आवागमन सहज हुने विश्वास लिइएको छ ।