सर्लाहीमा करिब १० वर्षको जङ्गली हात्ती मृत फेला
सर्लाही, १८ असोज । सर्लाहीको बागमती नगरपालिका–४ जिरायतमा करिब १० वर्षको पोथी जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ ।
ब्रहमबाबा सामुदायिक वन नजिकै स्थानीयले लगाएको परोर खेतमा आइतबार बिहान हात्ती मृत अवस्थामा फेला परेको हो । खेतमा हात्ती मृत देखेपछि स्थानीयले वन कार्यालयलाई खबर गरेका थिए ।
स्थानीयका अनुसार शनिबार राति करिब ८ बजेतिर बस्ती नजिकै जङ्गली हात्ती देखिएको थियो । राति खेततर्फबाट हात्ती कराएको आवाजसमेत सुनिएको स्थानीयले बताए । हात्ती झुण्डमा आएको हुनसक्ने अनुमान गरिएको छ ।
डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख विनोद सिंहका अनुसार मृत हात्तीको सुडमा घाउजस्तो देखिएको छ । यद्यपि, घाउकै कारण हात्तीको मृत्यु भएको हो वा अन्य कारणले भन्ने तत्काल यकिन हुन सकेको छैन ।
घटनास्थल बागमती नदीको छेउमा पर्छ । उक्त क्षेत्रमा यसअघि पनि जङ्गली हात्ती आउने जाने गरेको स्थानीयको भनाइ छ । वन तथा नदी आसपासका क्षेत्रमा समय–समयमा जङ्गली हात्ती देखिने गरेका छन् ।
हात्तीको मृत्युको वास्तविक कारण पत्ता लगाउन पर्सा राष्ट्रिय निकुञ्जको प्राविधिक टोली घटनास्थल पुगेको छ । चितवनबाट पशु चिकित्सकको टोलीसमेत घटनास्थलतर्फ गएको डिभिजन वन कार्यालयले जनाएको छ ।
प्राविधिक टोलीले गर्ने परीक्षण तथा पोस्टमार्टमपछि मात्रै हात्तीको मृत्युको वास्तविक कारण खुल्ने वन कार्यालयले जनाएको छ ।


