जनकपुरधाम, १८ असोज । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत धनुषाको नगराइन नगरपालिकामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरी सेवा, सुरक्षा व्यवस्थालगायत स्थानीयस्तरका समस्या र नागरिकका गुनासा प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

नगराइन नगरपालिकास्थित राजेश्वर निधि माध्यमिक विद्यालयको सभाहलमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको संयुक्त आयोजना तथा इलाका प्रहरी कार्यालय जटहीको समन्वय र सहकार्यमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले अध्यक्षता गरेका थिए भने नगराइन नगरपालिकाका नगर प्रमुख विनयकुमार यादव प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रममा वडा अध्यक्ष तथा जनप्रतिनिधि, महिला सञ्जालका सदस्य, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी, स्थानीय बुद्धिजीवी, शिक्षक र विद्यार्थी गरी करिब ११० जनाको सहभागिता रहेको प्रहरीले जनाएको छ ।

कार्यक्रममा सहभागी स्थानीयले आफ्नो क्षेत्रमा देखिएका सुरक्षा चुनौती, प्रहरी सेवा तथा शान्ति सुरक्षासँग सम्बन्धित विषयमा धारणा राखेका थिए ।

नागरिकका गुनासा र सुझावलाई सम्बोधन गर्दै प्रहरी र समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो ।

प्रहरीले नागरिकसँग प्रत्यक्ष संवाद गरी स्थानीय समस्या पहिचान गर्ने र आवश्यक समन्वयमार्फत समाधानको पहल गर्ने उद्देश्यले नागरिक सुनुवाइ कार्यक्रमलाई निरन्तरता दिइएको जनाएको छ ।

समुदायमा शान्ति सुरक्षा कायम गर्न प्रहरीको मात्रै प्रयास पर्याप्त नहुने भएकाले स्थानीय तह, नागरिक, विद्यालय, सामाजिक सङ्घसंस्था तथा अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको कार्यक्रममा सहभागीहरूले बताएका थिए ।