सर्लाही, ०३ असोज । सर्लाहीको बलरा नगरपालिका–५ अरनाहास्थित श्री सरस्वती अमरेश बाबुनन्दन सिंह माध्यमिक विद्यालयका ८ सय ६० विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ ।

नेपालको भरपर्दो एवम् नम्बर-१ शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर विद्यार्थीलाई पोशाक वितरण गरेको हो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोशाकजस्ता आधारभूत आवश्यकता पूरा गर्न सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको शिखर इन्स्योरेन्सले जनाएको छ ।

कम्पनीले ‘शिक्षामा सहयोग, विद्यार्थीको उज्ज्वल भविष्यको आधार’ भन्ने नारासहित सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमका लागि सर्लाही क्षेत्र नम्बर-४ का प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहको पहल रहेको थियो ।

कार्यक्रममा बोल्दै सिंहले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले विद्यार्थीको शैक्षिक वातावरण सुधारमा सहयोग आवश्यक रहेको बताए ।

उनले भने, ‘विद्यार्थीको पोशाक वितरण सहयोगको विषय मात्र नभई उनीहरूलाई विद्यालयप्रति थप आकर्षित गर्ने र शिक्षामा समान अवसरको वातावरण निर्माण गर्ने प्रयास हो । आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई शिक्षाको मूलधारमा टिकाइराख्न यस्ता सहयोगले महत्वपूर्ण भूमिका खेल्छ । शिक्षामा गरिएको लगानी नै समाजको दीर्घकालीन विकासको आधार भएकाले विद्यार्थीको आवश्यकता पूरा गर्न सबै क्षेत्रबाट सहकार्य आवश्यक छ ।’

सिंहले विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै विद्यार्थीका आधारभूत आवश्यकतामा समेत ध्यान दिनुपर्ने बताउँदै आगामी दिनमा पनि शिक्षा क्षेत्रमा सहयोग र सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

कार्यक्रमले विद्यालयका विद्यार्थी तथा अभिभावकमा उत्साह थपिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा कम्पनीका मधेश प्रदेश प्रमुख सुरेश चन्द्र गुप्ता, शिखर इन्स्योरेन्सका कम्पनी सचिव सुरज राज बाहकलगायत जनकपुरधाम, बर्दिबास, बरहथवा, लालबन्दी तथा गरुडा शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो ।