जनकपुरधाम, २९ जेठ । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरी र समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताएका छन् ।

जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय एकदिवसीय अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री महतोले अपराध नियन्त्रण तथा अनुसन्धानमा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे ।

उनले समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई अझ प्रभावकारी र परिणाममुखी बनाउँदै अघि बढाउनुपर्नेमा जोड दिए ।

मन्त्री महतोले नेपालको संविधानले प्रदेश सरकारलाई शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्ने जिम्मेवारी दिएको उल्लेख गर्दै प्रदेश सरकार सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

उनले जनशक्तिको अभाव, अनुसन्धानमा दक्ष प्रहरी जनशक्ति कमी तथा फोरेन्सिक प्रयोगशालाजस्ता पूर्वाधारको अभावका कारण प्रदेशमा शान्ति सुरक्षा व्यवस्थापन चुनौतीपूर्ण बनेको स्वीकार गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुनिल सिंह राठौरले सूचना प्रविधिको दुरुपयोगसँगै अपराध अनुसन्धानका चुनौतीहरू थपिँदै गएको बताए ।

उनले गलत सूचना, डीपफेक सामग्री तथा घृणायुक्त अभिव्यक्तिले अनुसन्धान प्रक्रियालाई जटिल बनाइरहेको उल्लेख गरे । साथै आर्थिक तथा वित्तीय अपराधको बदलिँदो स्वरूपले पनि प्रहरी अनुसन्धानलाई थप चुनौतीपूर्ण बनाएको उनको भनाइ थियो ।

गोष्ठीमा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलिया, उच्च अदालत जनकपुरका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवर, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेललगायतले अपराध अनुसन्धानको प्रभावकारिता, अन्तरनिकाय समन्वय तथा सुरक्षा व्यवस्थाका विषयमा धारणा राखेका थिए ।

कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाबाट आएका प्रहरी अधिकारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । उनीहरूले अपराध अनुसन्धानमा देखिएका चुनौती, अनुभव र सुधारका उपायबारे छलफल गरेका थिए ।