जनकपुरधाम, १५ कार्तिक । नेपाली जनसम्पर्क समिति अमेरिकाले आगामी नियमित अधिवेशनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

समितिका संयोजक प्रमोद सिटौलाले जारी गरेको प्रेस विज्ञप्तिमार्फत निर्वाचन समिति गठन गरिएको जानकारी दिएका हुन् ।

गठित निर्वाचन समितिको प्रमुख निर्वाचन आयुक्तमा सुरज नायक नियुक्त भएका छन् । उनी नेपाली जनसम्पर्क समितिका पूर्व विभागीय सदस्यसमेत हुन् ।

त्यस्तै, निर्वाचन आयुक्तमा विनोद श्रेष्ठ र सचिता रायमाझी बस्नेत चयन भएका छन् ।

नेपाली जनसम्पर्क समिति अमेरिकाको नियमित अधिवेशन आगामी नोभेम्बर १५ मा आयोजना हुँदैछ ।

अधिवेशनलाई निष्पक्ष, मर्यादित र व्यवस्थित ढंगले सम्पन्न गर्ने जिम्मेवारी नवगठित निर्वाचन समितिलाई दिइएको छ ।

संयोजक सिटौलाले निर्वाचन समितिमा चयन भएका पदाधिकारीहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

साथै, आसन्न अधिवेशनलाई सफल र ऐतिहासिक बनाउन सम्पूर्ण सदस्य तथा शुभेच्छुकसँग रचनात्मक सुझाव, सल्लाह, सहयोग र सक्रिय सहभागिताका लागि आग्रह गरेका छन् ।