देशमा सुशासन कमजोर बन्दै गएको भन्दै सरकारमाथि नेता मण्डलको प्रश्न

जनकपुरधाम, २७ जेठ । तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य उमेश मण्डलले देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायित्व कमजोर बन्दै गएको भन्दै सरकारमाथि गम्भीर प्रश्न उठाएका छन् ।
बुधबार जारी एक धारणा पत्रमार्फत मण्डलले जनताले परिवर्तन, विकास र सुशासनको अपेक्षा गरे पनि वर्तमान परिस्थितिले निराशा बढाएको बताएका छन् ।
सरकारी कार्यालयहरूमा भ्रष्टाचार नियन्त्रण हुन नसकेको, जनताको काम समयमा नहुने तथा पहुँच र आर्थिक प्रभावका आधारमा सेवा प्रवाह हुने प्रवृत्ति बढ्दै गएको उनको आरोप छ ।
उनले सीमावर्ती क्षेत्रमा सामान्य नागरिकमाथि कडाइ गरिए पनि संगठित तस्करी नियन्त्रणमा सरकार असफल भएको दाबी गरे ।
साना व्यापारी र सर्वसाधारणले भन्सारमा अनेकौं झन्झट व्यहोर्नुपरेको अवस्थामा ठूला तस्करहरू भने संरक्षणमा रहेको जनगुनासो बढ्दै गएको उनले उल्लेख गरेका छन् ।
मण्डलले हालै सार्वजनिक भएको बजेटसम्बन्धी सूचनाको चुहावट प्रकरणलाई पनि गम्भीर विषयका रूपमा उठाएका छन् । उक्त घटनाले राज्यको राजस्व व्यवस्थापन र आर्थिक अनुशासनमाथि प्रश्न खडा गरेको भन्दै उनले निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
उनले लोकतान्त्रिक व्यवस्थामा सरकार जनताप्रति जवाफदेही हुनुपर्ने भए पनि पछिल्लो समय जनमतभन्दा सत्ता जोगाउने राजनीति प्राथमिकतामा परेको टिप्पणी गरे ।
चुनावका बेला गरिएका प्रतिबद्धता बिस्तारै ओझेलमा पर्दै गएको र जनताको अपेक्षा सम्बोधन हुन नसकेको उनको भनाइ छ ।
जनअधिकारको संरक्षण र लोकतान्त्रिक मूल्य मान्यताको सुदृढीकरण आवश्यक रहेको उल्लेख गर्दै मण्डलले जनताको आवाज सुन्ने संस्कार बलियो बनाउन सरकारलाई आग्रह गरे । लोकतन्त्रमा असहमति र आलोचनालाई सम्मान गर्नुपर्ने उनको धारणा छ ।
सरकारी स्रोत साधनको प्रयोगबारे पनि प्रश्न उठाउँदै उनले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले मितव्ययिता र उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्नुपर्ने बताए ।
सरकारी सवारी साधनको प्रयोग सम्बन्धी पछिल्ला घटनाहरूले सरकारका प्रतिबद्धता र व्यवहारबीच अन्तर देखाएको उनको टिप्पणी छ ।
‘अब जनताले प्रश्न गर्ने र सरकारले जवाफ दिने संस्कृतिलाई बलियो बनाउनुपर्छ,’मण्डलले भने, ‘लोकतन्त्रमा सत्ता जनताभन्दा माथि हुन सक्दैन । जनविश्वास कायम राख्न सरकार पारदर्शी, उत्तरदायी र जनमुखी बन्न आवश्यक छ ।’
उनले देशलाई सही दिशातर्फ अघि बढाउन सरकार, राजनीतिक दल र नागरिक समाज सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् ।

